संसद् चल्नुपर्छ : पौडेल



काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । शनिबार नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उहाँले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनुहुँदैन, संसद् चल्नुपर्छ ।’

निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद भएको बताउँदै उहाँले भन्नुभयो– ‘संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेका छन् ।’ र्वसभामुखसमेत रहेका वरिष्ठ नेता पौडेलले संघीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी संघीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले कर्मचारीलाई पेसागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न आग्रहसमेत गर्नुभयो ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ ।’ उहाँले नेता र कर्मचारी देश र जनताप्रति इमानदार भए मुलुकभित्र रहेको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य हुने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित संघीय निजामती ऐन अगाडि बढाउन कांग्रेस कटिबद्ध रहेको बताउनुभयो । उहाँले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठूलो भूमिका रहेको बताउनुभयो ।

कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले विधिसम्मत ढंगले पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन कांग्रेसको वर्तमान नेतृत्व लागेको भन्दै पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशनमा कांग्रेस नेतृत्वबाट हस्तक्षेप गर्न नहुने बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियनका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद पोखरेलले सबै सेवाका कर्मचारीको अधिकारलाई समेटेर आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले कम्युनिस्ट सरकारले विचार र आस्थाका आधारमा कर्मचारी सरुवा, बढुवा गरेर कर्मचारीलाई दुःख दिएको गुनासो गर्नुभयो ।

युनियनका पूर्वअध्यक्ष इन्जिनियर सुबोधकुमार देवकोटा, भानुभक्त ढकाल, राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावत, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलगायतले मुलुकको विकासका लागि सरकार र निजामती कर्मचारी सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्