चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपण



काठमाडौं, (नेस) ।

नेपालमा पहिलोपटक शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीले चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपणमा सफलता हासिल गरेको छ । अस्पतालले ८० वर्षीया महिलामा यही फागुन १६ गते डेढ घण्टा लगाएर सफलतापूर्वक चिरफारबिना नै मुटुको भल्व प्रत्यारोपण गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार गंगालाल अस्पतालको सभाकक्षमा पत्रकार सम्मेलन गरी डा. अधिकारीले देशमै पहिलोपटक गरिएको भल्व प्रत्यारोणका लागि आवश्यक तयारी गर्न १ घण्टा र प्रत्यारोपणका लागि ३० मिनेट लागेको बताउनुभयो । ती महिलालाई फागुन २० गते अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिँदै उहाँले आगामी दिनमा थप उपचारका लागि आत्मबल बढेको बताउनुभयो ।

यो विधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमको तार (क्याथरेटर) द्वारा कृत्रिम भल्व मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण गरिएको भल्वले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने जिकिर गर्दै निर्देशक डा. अधिकारीले भन्नुभयो– ‘बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा जटिलता कम हुने र बिरामीलाई चाँडै डिस्चार्ज गर्न सकिने हुन्छ । शल्यक्रियाको तुलनामा यस पद्धतिको उपचार प्रभावकारी हुनुका साथै मृत्युदर पनि कम भएको विभिन्न अध्ययनले देखाएको छ ।’

सन् २००२ मा यो पद्धतिबाट पहिलोपटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरूमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो प्रविधि भित्रन सकेको थिएन । यो मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साँधुरिने एओर्की स्टेनोसिस रोगका कारण स्वाँस्वाँ हुने, छात्ती दुख्ने र बेहोस हुने जस्ता गम्भीर लक्षणहरू देखिन सक्छ । यस्ता लक्षणहरू देखिएका बिरामीको दुई वर्षभित्र मृत्यु हुने ५० प्रतिशत सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको डा. अधिकारीले जानकारी दिनुभयो ।

डा. अधिकारीका अनुसार चेन्नाईबाट आएको विशेषज्ञ टोलीको प्रत्यक्ष निगरानीमा नेदरल्यान्डबाट ल्याइएको भल्व प्रत्यारोपण गरिएको हो । भारतमा यो उपचारका लागि ४० देखि ५० लाख रुपियाँ लाग्ने तर गंगालाल अस्पतालमा २० देखि २५ लाख रुपियाँमै उपचार गर्न सकिने पत्रकार सम्मेलनमा बताइयो । पत्रकार सम्मेलनमा हाल नेपालमा ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि मात्र यो विधि अपनाइने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्