प्रचण्डलाई पदाधिकारी छान्न सकस



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्षबाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन । शुक्रबारबाट शुरु भएको केन्द्रीय कमिटीको बैठक एक दिन स्थगित गरेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदाधिकारी चयन गर्न नेताहरूसँग आन्तरिक छलफलमा लाग्नुभएको छ ।

एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट बन्दै आउनुभएको थियो । केन्द्रीय कमिटी बैठकमा श्रेष्ठले प्रचण्डको आलोचना गर्दै पार्टीभित्र आफ्नो असन्तुष्टि राख्नुभएको छ । श्रेष्ठको अभिव्यक्तिसँगै एमसीसीको विषयलाई लिएर पार्टीभित्र देखापरेको विवाद तत्कालका लागि समाधान भएको एक केन्द्रीय सदस्यले बताए ।

जारी केन्द्रीय कमिटीको बैठकबाट प्रचण्डले पदाधिकारीको टुंगो लगाउन चाहनुभएको छ । पार्टीको महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनले दाबी गर्नुभएको छ । सम्भवतः शर्मा र पुनमध्ये एक जना महासचिव बन्ने बताइएको छ । महाधिवेशनबाट पदाधिकारी चयन टुंगो लगाउने तयारी भए पनि पुनले आफू स्वास्थ्य उपचार गराएर स्वदेश फर्कन लागेको जानकारी गराएपछि बैठक स्थगित भएको थियो । त्यसलगत्तै कोभिड संक्रणण बढेको भन्दै माओवादीको बैठक अनिश्चित्कालका लागि स्थगित भएको थियो ।

पार्टीभित्र एमसीसीको विवादका कारण बोलाइएको केन्द्रीय कमिटीको बैठकसमेत सारिएको थियो । यसरी एकातिर पार्टीभित्र पदाधिकारीका आकांक्षी नेताहरूको व्यवस्थापन पेचिलो भएसँगै पदाधिकारी चयनको काम प्रभावित हुँदै आएको छ भने अर्कोतिर कोभिड संक्रमण, एमसीसी सम्झौतालगायतको कारण केन्द्रीय कमिटीको बैठक नै लम्बिँदै आएको छ ।

माओवादीका नेता देव गुरुङले नेतृत्वले चाहना गरे जारी केन्द्रीय कमिटीको बैठकबाटै पदाधिकारी चयन हुने बताउनुभयो । उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘व्यक्तिको चाहना, इच्छा र दाबीको आधारमा पद बाँडफाँड गर्नुहुँदैन, नेतृत्वले पार्टीको आवश्यकताअनुसार पदाधिकारीको चयन गर्न सक्नुपर्छ ।’ पार्टीमा पद ठूलो विषय नहुने बताउँदै अनावश्यक रूपमा आकांक्षा देखाउने प्रवृत्ति पनि गलत रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘पार्टीको विधानले बहुपदीय प्रणालीमा जाने भने पनि हाम्रो पार्टी अध्यक्षात्मक प्रणालीबाट चल्छ, नेतृत्वले सहमति निर्माण गरेर पदाधिकारीको विषयलाई अब लम्ब्याउनुहुँदैन, टुंगो लगाएर अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्