डडेल्धुरा कांग्रेस मिलाउन देउवाद्वारा छलफल शुरू



डडेल्धुरा ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गर्नुभएको छ ।

तर, पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ता भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्तालाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकताबद्ध हुने बताउँछन् । स्थानीय तह निर्वाचनमा पार्टी एकताबद्ध हुन नसकेमा सातवटै स्थानीय तहमा पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

डडेल्धुराको सातौं जिल्ला अधिवेशन एकलौटी रूपमा सम्पन्न गराएर कांग्रेस डडेल्धुराका तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाइपास’ गराउन खोजेका प्रधानमन्त्री देउवाले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लास्तरीय नेतासँग एकताको परामर्श थाल्नुभएको हो । डडेल्धुराको पाँचौं र छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति मल्ललाई महाधिवेशन प्रतिनिधि हुनबाट समेत रोक्ने अभिप्रायले जिल्लाबाट सिफारिस गरेर पठाइएका क्रियाशील सदस्यता केन्द्रबाट फेरबदल गर्न भूमिका खेलेका कांग्रेस सभापति देउवाले तत्कालीन जिल्ला कार्यसमितिको बहिष्कारका बीच एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गराउनुभएको थियो । उहाँले नगरपालिकाका प्रमुखसमेत रहेका सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायी भीमबहादुर साउदलाई कांग्रेस डडेल्धुराको सभापति बनाउन सघाउनुभएको थियो । छलफलमा सहभागी जिल्लास्तरीय नेताहरूका अनुसार जिल्लास्तरमा क्रियाशील कांग्रेस नेताहरूसँग छलफल शुरु गरे तापनि प्रधानमन्त्री देउवाले मल्ललाई एक्ल्याउने सोचमा परिवर्तन गर्नुभएको छैन ।

जिल्लास्तरीय नेता कार्यकर्ताको अभिभावक बन्नुपर्ने सभापति देउवाले कसैलाई काखा र कसैलाई पाखा लगाउने रणनीति अवलम्बन गरेकै कारण डडेल्धुरा कांग्रेसमा द्वन्द्व बढेको टिप्पणी गर्दै कांग्रेस डडेल्धुराका निवर्तमान उपसभापति करुणाकर भट्टले भन्नुभयो– ‘विधि प्रक्रिया मिचेर केन्द्रबाटै मनोमानी रूपमा क्रियाशील सदस्यता वितरण गर्दै जिल्लाको संस्थापन पक्षलाई बाइपास गरिएको हो ।’

सातौं जिल्ला अधिवेशनका क्रममा नेपाली डडेल्धुराका तत्कालीन सभापति मल्ल पक्षबाट जिल्ला सभापतिको उम्मेदवार बन्न आंकक्षी रहनुभएका डडेल्धुरा कांग्रेसका बौद्धिक नेता हरिप्रसाद भट्टलाई एकपक्षीय रूपमा सभापति बनाइएका साउदसँगै राखेर शुक्रबार प्रधानमन्त्री देउवाले बूढानीलकण्ठस्थित निवासमा छलफल गर्नुभएको छ ।

यसअघि पनि प्रधानमन्त्री देउवाले जिल्लास्तरीय नेताहरूलाई बोलाउँदै छलफल गर्दै आउनुभएको थियो । तर, आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर प्रधानमन्त्री देउवाले गृहजिल्लामा पार्टीभित्र देखिएको विवाद समाधान गर्न सक्रियता बढाएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

सातौं जिल्ला अधिवेशनका बेला आफूहरूले उठाएका कुनै पनि राजनीतिक मुद्दाहरूको सम्बोधन हुने लक्षण नदेखिएको बताउँदै भट्टले भन्नुभयो– ‘क्रियाशील सदस्यतामा भएको फेरबदल र जिल्ला नेतृत्वलाई बाइपास गरेर जिल्ला अधिवेशन सम्पन्न गरेको विषयमा निकास दिने गरी सभापति देउवाबाट कुनै प्रस्ताव नआएकाले वार्ताको खासै औचित्य देखिएन ।’
उहाँले भेटमा आफूले सभापति देउवालाई सबै जिल्लास्तरीय नेताहरूले गरेको कामको उचित मूल्यांकन गरेर पार्टी संगठनलाई वैधानिक बाटोबाट एकताबद्ध बनाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री देउवालाई निरन्तर ३० वर्षसम्म डडेल्धुराबाट जिताउन योगदान पुर्याएका कार्यकर्तालाई अपमानकजनक ढंगबाट बाइपास गर्ने रणनीतिका कारण डडेल्धुरा कांग्रेसमा द्वन्द्व उत्पन्न भएको हो ।’

पार्टी एकतावद्ध बनाउन छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिले अघि सारेका राजनीतिक मुद्दाहरू सम्बोधन गरिनुपर्ने आफ्नो अडान कायमै रहेको जिकिर गर्दै भट्टले भन्नुभयो– ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन नसकुन्जेलसम्म पार्टी एकताबद्ध हुन कठिन छ ।’

डडेल्धुराका तत्कालीन सभापति तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य मल्ल पक्षीय नेताहरूलाई विभिन्न आश्वासन दिएर मल्ल समूहबाट अलग पार्दै मल्ललाई एक्ल्याउने सभापति देउवाको दाउ रहेको जिल्लास्तरीय नेताहरू बताउँछन् । एक दशकसम्म नेपाली कांग्रेस डडेल्धुराको नेतृत्व गरेका मल्ललाई एक्ल्याउने देउवाको दाउ बुझेका मल्ल पक्षीय नेता कार्यकर्ताले मल्ल नेतृत्वको जिल्ला कार्यसमितिविरुद्ध पार्टी केन्द्रबाट भएको अन्यायलाई बुझेर सभापति देउवाले न्याय दिलाउनुपर्ने माग अघि सारेका छन् ।

प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफू निकटस्थ मानिएका जिल्लास्तरीय नेताहरूलाई पनि मल्ललाई एक्ल्याएर मात्रै जिल्लामा पार्टी एकता हुने बताउँदै आएको सम्बद्ध स्रोतहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्