भगवती लेमिनेट्सले गर्‍यो ‘कैफियत’ को स्वीकारोक्ति

समाचारको खण्डन गर्दा हुन पुग्यो समर्थन



काठमाडौं ।

नेपाल समाचारपत्रलगायत दर्जनौं सञ्चारमाध्यममा आर्थिक अनियमितताका विषयमा निरन्तर समाचार प्रकाशित–प्रसारित भएपछि आरोपित भगवती लेमिनेट्सले जारी गरेको खण्डनपत्रमा कैफियत भएको स्वीकारोक्ति छ ।

‘राजस्व अनुसन्धान विभागले कैफियत देखाई अनुसन्धान गरिरहेको र यस उद्योगको तर्फबाट आफूले गरेको कारोबारको सम्बन्धमा पुष्टि हुने कागजात तथा प्रमाण पेस गरी अनुसन्धानको प्रक्रियामा रहेको विषय जो हाल अपरिपक्व रहेको छ, अनुसन्धानपश्चात् समेत कथंकदाचित आरोप लगाएको अवस्थामा सो विषयको न्यायिक निरुपण हुनुअगावै उद्योगको साख एवं सञ्चालकहरुको मानमर्दन गर्ने तबरबाट नक्कली बीजकको कारोबार गरी राजस्व छली गरेको भनी समाचार प्रकाशित गर्नु सरासर त्रुटिपूर्ण रहेको छ ।’ –बिहीबार नेपाल समाचारपत्रमा बुझाइएको खण्डनपत्रमा लेखिएको छ ।

नेपाल समाचारपत्रलगायतका प्रभावशाली सञ्चारमाध्यममा भगवती लेमिनेट्सले कच्चा बिल र पक्का बिल गरी दुई थरी बीजक बनाई राजस्व छलेको दर्जनौं प्रमाणसहित समाचार प्रकाशित–प्रसारित भएपछि राजस्व अनुसन्धान विभागले छापा मारेर खातापाता र त्यसको अभिलेख रहेको कम्प्युटरसमेत नियन्त्रणमा लिएको अवस्थामा समाचार छाप्दा ‘उद्योगको साख एवं सञ्चालकहरुको मानमर्दन’ भएको भन्दै कम्पनीका तर्फबाट अध्यक्ष रजनीश करनानी प्रेस काउन्सिल नेपाल, नेपाल उद्योग वाणिज्य महासंघलगायतका निकायमा गुहार माग्न जानु अस्वाभाविक भएको मिडियाविज्ञहरुको धारणा छ ।

प्राप्त प्रमाणका आधारमा मिडियाले ‘कच्चा बिल’ मा कारोबारको यथार्थ विवरण हुने तर त्यो कर कार्यालयमा दाखिला नगरिने, ‘पक्का बिल’ न्यून रकम र कारोबारको विवरणका साथ तयार पारिने र राजस्वका लागि पेस गरिने ठगी व्यापारको काइदाका सम्बन्धमा मिडियामा प्रमाणका साथ समाचार प्रकाशित हुँदै आएको छ । पक्का बिलको कारोबार झापाको मेचीनगर अफिसबाट गर्ने, कच्चा बिलको धुलाबारीबाट । धुलाबारीको अफिस कता छ, कसैलाई थाहा छैन । आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण कार्यालयले अनुसन्धान गर्न चाहेमा पनि मेचीनगरको कार्यालय जाने, तर त्यहाँ केही पनि प्रमाणका कागजात नपाइने अवस्था सिर्जना गरेर राजस्व ठगी गर्ने काम निरन्तर जारी राखिएको छ ।

कम्पनीले शेयर लगानीका सम्बन्धमा पनि गलत विवरण बाहिर ल्याएको छ । रजनीश करनानी, विनीत अग्रवाल, निर्मला करनानी, रतनकुमार अग्रवाल, दीपेन्द्रकुमार अग्रवाल र सन्तोष आचार्यको नाम लगानीकर्तामा रहे पनि बहुसंख्यक लगानी विष्णु मदगोरियाको नै रहेको कर्मचारीको दाबी छ ।

नगदमा मात्र काम गर्ने अवस्था रहेको भए यो ठगी काइदा पहिचान हुन सक्तैनथ्यो, तर कर्मचारीहरुले डिलरहरुसँग व्यक्तिगत नाममा नगद र चेक लिएर विभिन्न बैंक खातामा जम्मा गरेको भौचरसमेत फेला पारेपछि समस्त कर्मचारी र डिलरहरु पनि राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरणको फन्दामा पर्ने निश्चित भएको छ ।

यी सबै तथ्यहरुलाई लुकाउँदै भगवती लेमिनेट्सले खण्डनपत्रमा भनेको छ– ‘प्रत्येक आर्थिक वर्षमा भएको कारोबारको आय विवरण पेस गरी तिर्न बुझाउन पर्ने आयकर तिरी बुझाई आएका छौं ।’ तर, कम्पनीले दुई प्रकारको बिल बनाएको र नक्कली बिल बनाई न्यून कारोबार भएको झुटा विवरणको आधारमा कर ठगी गरेको सत्य भने लुकाएको छ ।

भगवती लेमिनेट्सले के समाचार हुन्छ, के समाचार हुँदैन भन्ने कुरा पनि सिकाएको छ– ‘नियामक निकायसमेतले हालसम्म आरोप पुष्टि गर्न नसकेको र अनुसन्धानको प्रक्रियामा रहेको विषयवस्तु समाचार हुन सक्तैन । नियामक निकायले अनुसन्धान गरी भविष्यमा अभियोग दायर गरेको अवस्थामा समेत न्यायिक निकायबाट अन्तिम निर्णय नभएसम्म कसैलाई पनि दोषी भन्न मिल्दैन ।’

खण्डनपत्रमा कम्पनीले आफूलाई राष्ट्रसेवकका रूपमा चित्रण पनि गरेको उल्लेख छ– ‘गत २०७५ सालमा खुलेको यस उद्योगले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई कारोबार गरेको र ५ सय जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग हो । यस उद्योगले प्रचलित कानुनबमोजिम तोकेको प्रक्रिया पूरा गरेर मात्र आफ्नो उत्पादन बिक्री–वितरणको कारोबार गरी आएको छ । उद्योगले आफूले गर्ने कारोबारको प्रत्येक महिना खरिद तथा बिक्रीको विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालयसमक्ष पेस गरी तिर्न बुझाउन पर्ने मूल्य अभिवृद्धि करलगायतको राजस्व तिरी बुझाई आएको छ ।’

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै
भगवती लेमिनेट्सको फन्दामा डिलरहरू
भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर
भगवती लेमिनेट्सको कर छली प्रकरण : व्यक्तिगत नाममा चेक काट्ने डिलरविरुद्ध कारबाही हुने
भगवती प्लाइउडमा राजस्वको छापा
डिलरलाई मानसिक तनाव, व्यापार व्यवसाय चौपट
‘भाइलाई नसोध्नु होला तनाव हुन्छ’
सम्पत्ति शुद्धीकरणको घेरामा भगवती लेमिनेट्स
भगवती लेमिनेट्स कर छली प्रकरण : सम्पत्ति शुद्धीकरणको दायरामा डिलर
भगवती लेमिनेट्स कर छली प्रकरण : डिलरहरू धर्मसंकटमा

प्रतिक्रिया दिनुहोस्