नेपालकै नमुना तीनमुखे पुलको काम अन्तिम चरणमा



गुल्मी ।

गुल्मी, पाल्पा, स्याङ्जाको संगमस्थल नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाम रिडीमा गुल्मी पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलको काम अन्तिम चरणमामा पुगेको छ । सम्झौता अनुसार लामो समय काम नभएपछि पुलको विषयमा नागरिकस्तरमा आलोचना बढी र आशा कम थियो । तर, पछिल्लो समयमा भने कामले गति लिएको छ । तीन जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल पाल्पा, गुल्मी, स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमुना तीन मुखे पुल लामो समयदेखि निर्माणकार्य नहुँदा सम्पन्न हुसकेको थिएन ।

तर, पछिल्लो केह िमहिनायता भइरहेको निर्माण कार्यले अब छिट्टै पूरा हुने देखिएको छ । लामो समय पुलको काम नहुदा समग्र रुरुबासिमा नैरास्यता छाएको थियो । ठेकेदार कम्पनीले कहिले बाढी कहिले पहिरो कहिले कोरोना त कहिले आर्थिक अभाव लगायतका समस्यालाई देखाउँदै समयमै पुलको निर्माण कार्य सम्पन्न हुन सकेन । अहिले प्रत्येक लुठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्याङ, रेलिङ निर्माण र झन्डा राख्ने संरचना निर्माणको काम भइरहेको र अबको वैशाख भित्रमै सम्पुर्ण काम सकिने लब्लीना कन्स्ट्रक्सनका निर्माण व्यावसयी सुशान्त यादवले बताउनुभयो ।

पुल वैशाख १ गते भित्र उक्त उद्घाटन गर्ने गरी तयारी भएको उहांको भनाई छ । तीन मुखे पुलको २०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि २०७१ मंसिर १५ गते निर्माण कार्य आरम्भ भएको थियो । कुल ९ करोड ८८ लाख २६ हजार ३ सय ३२ लागतमा बन्न लागेको पुल नयाँबाटो–रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थिए ।
यो पुल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने देखिएको छ । जसले गर्दा स्थानीय व्यवसायीलगायत अन्य नागरिक समेत हर्सित भएको स्थानीय भिस्म ज्ञवालीले बताउनुभयो ।

पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोरसंगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने स्थानीयको भनाइ छ । कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाइ भएको पिल्लर निर्माण भएको छ ।

पुलमा २५ मिटर उचाइ सहितको भ्युटावर, ३ जिल्लाको तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ । यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका– १ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका– १४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका– १ रिडी जोडेको छ । पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यही जिल्लामा जान सक्ने डिजाइन रहेको छ । नेपालमै नमुनाको रूपमा रिडिमा तीन मुखे झलुङे पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्