कच्चा तेलको मूल्य अत्यधिक बढ्यो



काठमाडौं ।

रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाइरहेको बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । बिहीबार तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले प्रति ब्यारल ११७ अमेरिकी डलर पुगेको घोषणा गरेका छन् ।

रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरहरूमा आक्रमण तीव्र पारेसँगै प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३ दशमलव ५८ प्रतिशतले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो ।

रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिए पछि गरिब मुलुकहरू मारमा परेका छन । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ भने धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुकको रुपमा रुस रहेको छ । विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुस एक्लैले धानिरहेको छ ।

रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा र युरोपेली लगायतका मुलुकहरुले लगाएका छन् । यद्यपि, रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुर्याउने ती मुलुकले बताउँदै आएका छन् ।

कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत त्यसको असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दबाब परेको छ । अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको व्यापार घाटा यसले झनै बढाउने छ ।

पेट्रोलियम व्यवसायीको माग पूरा गर्न माग
पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान शुरु गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको बैठकले नौं बुँदे निर्णय गर्दै पेट्रोलियम क्षेत्रका देखिएका समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेस गर्ने निर्णय गरेको छ ।

समितिमा नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आवद्ध रहेका छन् । समितिको बैठकले पेट्रोलियम व्यवसायमा देखिएका समस्याका बारेमा छलफल गर्दै सरकार समक्ष आफ्ना विभिन्न मागहरू पेस गर्ने निर्णय गरेको छ । पेट्रोलियम ऐन बनाउनुपर्ने, एलपी ग्यास बिक्री तथा ढुवानी विनियमावली परिमार्जन गर्नुपर्ने तथा पेट्रोलियम व्यवसाय सुधार कार्ययोजना लागू गर्नुपर्ने लगायतका माघ अघि सार्ने निर्णय बैठकले गरेको छ ।

समितिका संयोजक एवं एलपी ग्यास उद्योग संघका अध्यक्ष कुसप्रसाद मल्लीको अध्यक्षतामा बसेको बैठकले पेट्रोलियम साधनमा ढुवानी भाडादर समायोजन हुनुपर्ने, पेट्रोलियम पदार्थको प्राविधिक नोक्सानीको सम्बन्धमा भएको अध्ययन समितिको प्रतिवेदन लागू गर्नुपर्ने एलपी ग्यास ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा स्वचालित भाडादर कायम हुनुपर्ने माग गर्ने निर्णय गरेको छ ।

समितिले आफ्ना मागहरू पूरा गर्न आवश्यक कार्यक्रमहरू तय गर्दै यससम्बन्धी घोषणा गर्न शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्ने समितिले जनाएको छ ।

मल्ली संयोजक रहेको समितिको सह–संयोजकमा खगेश्वर बोहोरा र लिलेन्द्रप्रसाद प्रधान रहेका छन् । बोहोरा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघका अध्यक्ष र प्रधान नेपाल पट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष हुन् । समितिको सदस्यमा गोकुल भण्डारी, शिवप्रसाद घिमिरे, विश्वप्रसाद अर्याल, श्याम बुढाथोकी र कमल खड्का तथा समिति सदस्य सचिवमा भने कृष्णभक्त श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्