अनियमितताको उजुरीपछि गाउँपालिकामै अख्तियार



खोटाङ ।

खोटाङको साकेला गाउँपालिकाबाट सामाजिक सुरक्षाभत्ता अनियमितता भएको उजुरी परेपछि अख्तियारले गाउँपालिकामै पुगेर छानबिन शुरु गरेको छ । गाउँपालिकाले नै अनियमितताको उजुरी दिएपछि अख्तियारको टोली वडा–वडा पुगेर छानविन शुरु गरेको हो ।

मृत्यु भइसकेका, कतिपय बसाई सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा झुटो कागजात बनाएर सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको पाइएपछि गाउँपालिकाले उजुरी दिएको जनाइएको छ । अख्तियारको टोलीले वडा नम्बर–४ र वडा नम्बर–५ मात्तिम मानेभञ्ज्याङबाट छानबिन थालेको हो ।

आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन निस्किएको थियो । सो अनियमिततामा संलग्नलाई कारबाहीका लागि गाउँपालिकाले २०७७ पुष १२ गते सोसँग सम्बन्धित कागजातको फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई पठाएको थियो ।

गाउँपालिकाले पठाएको प्रतिबेदनमा उल्लेखित लाभग्राहीको नामावलीमाथि अख्तियारले विस्तृत अनुसन्धान थालेको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताउनुभयो । सामाजिक सुरक्षाभत्ता पाउने कतिपय लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना, एउटै जन्म मिति उल्लेख गरेर नक्कली लाभग्राही खडा गरिएको पाइएको छ । एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्य फेला परेको बताइएको छ । छानबिनका क्रममा कतिपय मृतक वा बसाइ सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको जनाइएको छ ।

सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौं रकम चुहावट भइरहेको प्रतिबेदन सार्वजनिक भए लगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबीआई बैंक साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइसकेको छ ।

सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैंकिङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७/०७८ को दोश्रो र तेश्रो चौमासिकमा ४६ लाख ७४ हजार ७ सय ६६ रुपैयाँ रकम बेरुजु खातामा फिर्ता गएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्