गाउँपालिकाको खर्चमा दलको कार्यक्रम



काभ्रे ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्थानीय सत्ताको दुरुपयोग गर्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले गाउँपालिका र पार्टीको कार्यक्रम एउटै मञ्चमा एकै पटक गरेका छन् । स्थानीय चुनावलाई प्रभावित गर्ने उदेयश्ले गाउँपालिकाको आयोजनामा पार्टीको कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले पार्टीका नारा घन्काउँदै पार्टीकै गितमा नृत्य र झाँकी प्रस्तुत गरेका थिए । ‘यो पार्टी र गाउँपालिकाको संयुक्त परिचालनपछि आयोजित कार्यक्रम हो’– वडा नम्वर ७ का अध्यक्ष वीरबल लामाले भन्नुभयो–‘पार्टीले सबै कमिटी परिचालन गरी स्थानीयहरू सहभागी गराएको हो ।’

चौंरीदेउराली गाउँपालिकाभित्र विद्रोही माओवादी र राज्यपक्षबाट विभिन्न समयमा ३५ जनाले ज्यान गुमाएको गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले बताउनुभयो । शहिद सबैका भएकाले एउटै मञ्चबाट कार्यक्रम गरिनु नयाँ नभएको उहाँले बताउनुभयो । गाउँपालिकाका कार्यक्रममा नेकपा माओवादीका लोगो अंकित ब्यानर, तोरण र झण्डा कार्यक्रम स्थलमा प्रयोग गरिएको थियो ।

गाउँपालिकाले कार्यक्रम आयोजना गरिरहेको मञ्चमै नेकपा माओवादीले पार्टी प्रवेशको ब्यानर राखेर विभिन्न पार्टीमा कृयाशिलहरुलाई पार्टी प्रवेश गराएको थियो । चौरीदेउराली गाउँपालिकाले आयोजना गरेको शहीद तथा वेपत्ता पारिएका परिवारका सदस्यहरूको सम्मान र नवनिर्मित शहीद शालिक अनावरण कार्यक्रममा नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश तथा र्याली आयोजना गरेको थियो ।

कार्यक्रममा माओवादी नेता तथा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरूलाई माओवादीमा प्रवेश गराएका थिए । मञ्चमा सहभागि वक्ताहरुले नेकपा माओवादीलाई आगामी निर्वाचनमा भोट मागे पछि अर्का वक्ता लोकबहादुर गौतमले भोट माग्ने कार्यक्रम नभएको बताएका थिए ।

गाउँपालिकाले विभिन्न वडाबाट कार्यक्रममा सहभागी हुन गाडीहरू रिजर्भ गरेको थियो । रिर्जभ गाडीमा सबै माओवादी कार्यकर्ताहरू झण्डा बोकेर सहभागि भएका थिए । उक्त खर्च समेत गाउँपालिकाले व्यहोरेको छ । कार्यक्रममा माओवादीका नेताहरू रत्न ढकाल, गंगा बहादुर तामाङ, सूर्यमान दोङ, तेज बहादुर मिजार, रुकु चौलागाईं, रेणुका चौलागाईं लगायतका दर्जनौं नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्