पद नपाउँदा पार्टी छोड्ने वास्तविक पार्टी सदस्य हुन सक्दैनन् : ज्ञवाली 

विवेकशील बागमती प्रदेशका नेतासहित १ दर्जन एमालेमा प्रवेश 



ललितपुर । 

विवेकशील बागमती प्रदेशका सदस्य रमेश बस्नेतसहित विवेकशील साझा र राप्रपाका १ दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले ललितपुरले आयोजना गरेको स्थानीय तहको निर्वाचनसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उहाँहरूलाई पार्टी प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पार्टीमा पद नपाउने बित्तिकै पार्टी नराम्रो भन्नेहरू पार्टीका वास्तविक कार्यकर्ता हुन नसक्ने बताउनुभयो । पद पाउँदा खुसी हुने र विभिन्न कारणले र पद नपाउँदा सामाजिक सञ्जालमा लामो कुरा राखेर पार्टीकै बदनाम गर्दै आफू अन्यतिर लाग्नेहरूप्रति नेतृत्व सजक हुनुपर्नेमा ज्ञवालीको जोड थियो ।

पद नपाएर पार्टी छोड्नेतर्फ इङ्गित गर्दै नेता ज्ञवालीले भन्नुभयो, ‘काम नलाग्ने भए त्यो पार्टीको अध्यक्ष वा अन्य पदमा दाबी किन गरेको ? तपाई अध्यक्ष हुने वित्तिकै लिट्मस पेपरजस्तो त हैन होला टक्कै छुट्ने । चुनावको समयमा यस्ता प्रवृत्ति अझ बढ्ने हुनाले यसप्रति चनाखो हुनुपर्छ ।’

कार्यक्रममा प्रस्तुतीकरण गर्नु हुँर्दै नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले जो जनप्रतिनिधि भए पनि चुनावमा जो उठे पनि पार्टीको निर्देशन मान्नु उहाँहरूको कर्तव्य हुने बताउनुभयो ।

आचार्यले अगाडि भन्नुभयो, ‘पार्टीसँग सल्लाह नगर्दा पार्टी चल्न सक्छ ? हामीले निर्माण गर्न खोजेको पार्टीका जनप्रतिनिधि त्यस्तै हुन् ? यो कदापि हैन । यो कुरामा सम्बन्धित पार्टी कमिटीले विशेष ध्यान पुर्‍याउनुपर्छ ।’

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, सांसद नवराज सिलवाल लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रशिक्षणमा आठौँ जिल्ला अधिवेशनका आयोजक समिति, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, जिल्लाका जनसङ्गठनका प्रमुखहरू तथा स्थानीय तहका पार्टी प्रमुखहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्