कांग्रेसले कहिल्यै राष्ट्रघात गर्दैन : महामन्त्री शर्मा

0
Shares

भक्तपुर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनुभएको छ । मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेक्कार हो भन्नुभयो ।

उहाँले कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै एमसीसीमा सैन्य रणनीति नरहेको प्रस्ट पार्नुभयो । नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्वीकारेर देशको विकासमा लगाउनुपर्ने उहाँको धारणा थियो ।

‘बानेश्वरको सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाको दोष छैन, फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, जसले यो एमसीसी पास हुनेबित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो दोष द्वैध चरित्र देखाउने नेताहरूको हो’, शर्माले भन्नुभयो– ‘उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराउनुभएको हो भन्दै उहाँले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसीसी मुर्दावाद नभन्नु, एमसीसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसीसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राख्नुभयो ।

चुनाव अगाडि एमसीसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भन्नुभयो– ‘राष्ट्रघात हो भने त चुनाव अघि गरे पनि पछि गरे पनि राष्ट्रघात नै हो ।’उहाँले नेपालमा पनि युक्रेनमा रूसले गरेजस्तै अवस्था आउन सक्छ भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

महामन्त्री शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले राजनीतिदेखि बिरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो– ‘जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर जब मतदान गर्ने बेलामा एकपटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले कांग्रेस सरकारमा आएपछिको पनि समीक्षा गर्नुस्, अनि मतदान गर्नुस् ।’

‘म एक जनाले भोट नदिएर के हुन्छ र ? जसलाई भोट दिए पनि यस्तै हो, म भोट दिन जान्न भन्ने सोचाइ पहिलोपटक भोट हाल्न जाने युवा वर्गमा आउन सक्छ ।’ –महामन्त्री शर्माले भन्नुभयो ।

भक्तपुरका रोहितलाई, विगतमा सरकार चलाउने पार्टीहरु समीक्षा गरेर प्रश्न गर्ने अधिकार जनतासँग छ भन्दै उहाँले कांग्रेसलाई प्रतिपक्षमा बस्ने जिम्मेवारी जनताले दिए पनि अहिले सरकारमा जानुपरेको भनाइ राख्नुभयो । पाँच वर्षका लागि चुनाव जितेका नेकपाले सरकार चलाउँदा केपी ओलीले अब ५० वर्ष नेकपाको सरकार भन्ने तर तीन वर्ष पनि सरकार चलाउन नसक्ने भन्दै उहाँले केपी ओलीले अहिले पनि दादागिरी प्रस्तुत गरेको टिप्पणी गर्नुभयो ।

नेकपाकै सरकार रहेका बेलामा प्रचण्ड र माधव नेपालले बूढानीलकण्ठमा गएर सरकार बुझाएपछि देशका लागि कांग्रेसले सरकारको नेतृत्व गर्नुपरेको उहाँको भनाइ थियो । उहाँले एमालेतर्फ लक्षित गर्दै सिंहदरबारमा ढंग नपुग्दा र समृद्धिको भात पकाउन परिपक्वता नहुँदा काँचो बनेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दुर्लभ थापा, सभापतिका प्रत्यासी युवा नेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान शुरु भएको भन्दै आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुने गरी कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।