बढ्दो शहरीकरणले पशुपक्षीको बास हरायो



मुलुकभर वा काठमाडौं उपत्यकामा भएका खोलाहरु आजभन्दा पाँच दशकअघि निकै सफा थिए । सर्वसाधारणले आफ्नो घरयासी प्रयोजनदेखि पिउनको लागि समेत खोलाकै पानी प्रयोग गर्दथे । गाईवस्तुले पनि त्यही खोलामा गएर भरपूर पानी पिउँथे । तर, पछिल्लो केही वर्षयता उपत्यकामा भएका खोलाहरु निकै फोहोर छन् । खोलामा पानी त छ तर केही कामको निम्ति प्रयोग गर्नेजस्तो छैन । हिउँदमा होस् या बर्खामा उपत्यकाको खोला कहिल्यै सङ्लो भएको देख्न पाइँदैन । हामी मानव जातिको कारण भएका जति खोलानाला सबै प्रदूषण भए । पहिले बग्दा यही पानी खानलायक थियो, अहिले सुँघ्नलायक पनि छैन ।

बढ्दो अव्यवस्थित शहरीकरणको कारण सबै खोलानालामा फोहोर मिसियो । ढलसमेत खोलामै ल्याएर मिसाइएको छ । खोलानालाछेउछाउ फोहोरको डंगुर थुपारिएको देख्न सकिन्छ । कुनै जीवजन्तु वा चराचुरुङ्गीले त्यो पानी खायो भने उनीहरुको प्राणान्त हुन्छ । पछिल्लो समय खोला कब्जा गरेर सुकुम्बासीको नाममा मानिसहरु खोलाछेउछाउ बसिरहेका छन् ।
खोला मासेर, सरकारी जग्गा कब्जा गरेर, खोलालाई दुर्गन्धित बनाएर उनीहरु बसिरहेका छन् । वास्तवमै सुकुम्बासी नभएकाहरुले ढोंग गर्न र सरकारबाट सान्त्वना पाउन खोलाछेउछाउ आएर बसेका हुन् । लाजिम्पाटको उत्तरढोका, गैरिधारा, जय नेपाल हल, बागबजार हुँदै भृकुटीमण्डप बग्ने खोला मासेर घर बनाइएको छ । भृकुटीमण्डप र लाजिम्पाटमा खोला भेटिन्छ तर अन्य क्षेत्रको खोला मासेर घर बनाइसकेको छ । खोला मासेर आफ्नो नाममा दर्ता गरेर घर बनाउनेलाई सरकारले कारबाही गरेको छैन । यता, भएका खोलाहरुको पनि उचित हेरचाह र सरसफाइमा सरकारी निकाय लापरबाह देखिन्छ ।

जनताले खाई नखाई तिरेको कर र विदेशीबाट लिएको ऋणबाट खोला सफा गर्ने भनेर घोषणा भयो । हरेक हप्ताको शनिबार खोला सरसफाइ गर्ने भनिएको थियो । एक–दुई दिन सबैले तातेको जस्तै गरे, सफा गरेको नाटक देखाए । अर्को दिनदेखि फेरि उस्तै । खोला सफा नभए पनि अर्बौं रुपियाँ सखाप भयो । तर, खोलानालामा भएको प्लास्टिक अहिले पनि उस्तै छ । पानी जस्ताको त्यस्तै छ, अलिकति पनि सङ्लिएको छैन । जनताले तिरेको कर यी अभियन्ता र सरकारकै मिलोमतोमा झ्याम बन्यो । सरकारले उपत्यकाबाट निस्किने फोहोरको सही तरिकाले विसर्जन गर्न नसक्दा खोलानाला निकै प्रदूषित बनेको छ ।

अहिले मानिसहरुले आफ्नो घर, पसल, होटलबाट निस्किएका फोहोरहरु सीधै खोलानालामा ल्याएर फ्याँकिदिन्छन् । यता, ढलको पनि उचित व्यवस्थापन हुन नसक्दा यो पनि खोलामै मिसिन्छ । चेतनाको कमी वा बाध्यताको कारण कतिपय खोला वा पुलमुनि गएर दिसापिसाब गर्छन् । जसले गर्दा दुर्गन्ध झनै फैलिएको छ । सरकारले नयाँ सार्वजनिक शौचालय बनाउनमा जोड दिँदैन । भएको पुरानालाई पनि जतन गर्न सकिएको छैन । सार्वजनिक शौचालयहरु निकै नै फोहोर छन् । एकातिर पानीको व्यवस्था छैन, अर्कोतिर चुकुल छैन । भित्तैभरि पान खाएर थुकेका छन् ।

बल्लतल्ल शौचालयको प्रयोग गरे पनि हात धुन साबुन हुँदैन । भित्तैभरि पानको छिटैछिट्टा छ । तैपनि यस्ता शौचालय प्रयोग गरेको १० देखि २० रुपियाँ तिर्नुपरेको छ । दिसापिसाब गरेर तिरेको पैसा पनि राज्यको ढुकुटीमा जाँदैन । यता, पैसा तिरे पनि सरसफाइ गरिएको छैन ।

सार्वजनिक शौचालयमा पैसा लिने व्यवस्था नै गलत छ । पैसा हुनेचाहिँ शौचालय जान पाउने, नहुनेचाहिँ नपाउने ? पैसा लिने व्यवस्थाले अधिकांशले खोलानालाको छेउछाउ गएर दिसापिसाब गरिदिन्छन् । होटलमा पनि केही नखाई शौचालय जान पाइँदैन । घरबाट बाहिर निस्किसकेपछिको प्रमुख समस्या नै यही बनेको छ ।

यहीँ बसोबास गर्नेलाई त यस्तो समस्या छ भने बाहिर जिल्लाबाट काठमाडौं आएकालाई कति समस्या छ । पाँच दशकअघिसम्म जनसंख्या पनि कम थियो । घरहरु पनि सबै पुराना, ढुंगामाटोले बनेका थिए । काँचो इँटा, त्यसमाथि पनि खर र छ्वालीको छानो हुन्थ्यो । प्रत्येक मानिसले एउटा घर र गोठ बनाएको पाइन्थ्यो । तर, अहिले गोठ हेर्नलाई निकै सकस छ । मानिसहरुले गाईवस्तु पाल्न छोडिसकेका छन् । जे पनि प्याकेटमा आउन थालेपछि मानिसहरुलाई त्यही नै सहज बनेको छ । बढ्दो शहरीकरणले नेपालको मौलिकता हरायो । खोलानाला सबै मासियो । अहिले मान्छेले मान्छेलाई गन्दैनन् । यो पनि बढ्दो शहरीकरणकै देन हो ।

हरेक नेपालीको घरमा हुने सिलौटा, ढिकी, जाँतो पनि यही शहरीकरणको कारणले लोप हुन पुग्यो । जिरासमेत प्याकेटको किनेर खाने चलन मौलायो । घरघरमा चराचुरुङ्गी बस्न बनाइएका गुँडहरु पनि सबै मासियो । हामीले जसलाई विकासको नाम दियौं, त्यसले सबै विनाश गरिदियो ।

हरियाली बनपाखा पनि सबै काठको निम्ति मासिदिए । रुख रोप्नुको सट्टा झनै उखेलिरहेका छन् । हाम्रो पुख्र्यौली सम्पत्ति सरकारले गर्दा सबै मासियो । घर बनाउनलाई सरकारले विकासको नाम दिएको छ । तर, भोलि भूकम्प आएर यी घर भत्किए भने सरकारले इँटा र सिमेन्ट कहाँ लगेर व्यवस्थापन गर्छ ? यो विषयमा सरकारले कहिल्यै पनि सोचेन । घर बनाउन दिएको छ तर मापदण्ड बनाएको छैन । सिमेन्ट र इँटाको घरले चराचुरुङ्गी बस्ने ठाउँ पनि मासियो । बस्ने ठाउँ नहुँदा चराचुरुङ्गी उडेको उड्यै गर्न बाध्य छन् । रुख सबै काटेर सिद्धिसक्यो । अनि चराचुरुङ्गी कहाँ गएर बस्ने ? तारमा गएर बस्दा कति चराचुरुङ्गीको ज्यान गयो । घरको छतमा गएर बस्दा मानिसहरुले लखेट्छन् । बढदो शहरीकरणले हामी मानव जातिलाई सकस भएको छ भने चराचुरुङ्गी मारमा परेका छन् । शहरीकरणले चराचुरुङ्गी पनि लोप हुँदै गए । स्थानीय निकायले नक्सा पास गर्ने बेलामा चराचुरुङ्गी बस्ने ठाउँको निर्माण गर्नुपर्छ भनेर नीति ल्याउन जरुरी छ । हाम्रो पुर्खाले साँचेको घर पनि अब सबै विस्थापन हुँदै छ ।

अब जन्मिने पुस्ताले पुर्खाले के–के गरेका थिए भन्ने कसरी थाहा पाउने ? कि त सरकारले किताबमा लेख्नुपर्यो । कि भएकालाई बचाउन उचित नियम बनाउनुपर्यो । अहिले काठमाडौंमा बस्नेलाई घुम, नाड्लो, डोको, डालो, नाम्लोको के मतलब ? यी सबै अब विस्थापन हुन लागिसकेका छन् । सरकारले अब बनाउन चाहेर पनि उपत्यका सुन्दर बन्न सक्दैन । सरकारले एउटै काम गर्यो नक्सा पास गर्न दिने, घर बनाउने अनि ढल ल्याएर खोलामा मिसाउने । सरकारले पहिल्यै सोचेको भए आज काठमाडौंमा यस्तो अवस्था आउँदैनथ्यो । शहरीकरणले विकृतिबाहेक अरु केही ल्याएन ।
बेनाम

प्रतिक्रिया दिनुहोस्