उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या



काठमाडौं ।

उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ । एक साताअघि मात्र स्थानीयसँग सहमति भएर १२ दिन लामो अवरोध समाप्त भई सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरु भएको थियो । ठेकेदार कम्पनीले काम ढिलो गरेको भन्दै स्थानीयले फेरि हिजो बुधबार दिनभर फोहोर बोकेका सवारीलाई तीनपिप्लेमा रोकेका थिए ।

यही फागुन १ गतेदेखि मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै आन्दालनमा उत्रिएका स्थानीयले १२ दिनसम्म बाटो बन्द गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो । ठेकेदार कम्पनी शैलुङ कन्ट्रक्सनले फागुन १२ गते चैत महिनाभित्र मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गरिसक्ने र बाँकी क्षेत्रसमेत नियमित कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको थियो ।

तारकेश्वर नगरपालिका–३ का अध्यक्ष मनोहरि तिवारीले काममा फेरि सुस्तता आएका कारण फोहोर रोकेको बताउँदै भन्नुभयो– ‘ठेकेदारले सम्झौता गरेअनुसार काम नगरेका कारण तीनपिप्लेमा फोहोर रोकिएको हो । यही अवस्था रहे फोहोर विसर्जन गर्न दिँदैनौं ।’ उहाँले ठेकेदारले मनपरी गरेका कारण समस्या बढ्दै गएको टिप्पणी गर्दै तोकिएकै समयमा बाटो नबनाए फेरी फोहोर रोक्न जनता सडकमा उत्रने चेतावनीसमेत दिनुभयो ।

फागुन १३ गतेबाट फोहोर उठ्न थाले पनि राजधानीका अधिकांश सडक गल्लीको फोहोर उठ्न सकेको छैन । निजी कम्पनीसँग सवारीसाधन सीमित भएकाले फोहोर विसर्जन गर्न नसकेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले जनाएको छ ।

विभागका प्रमुख सरिता राईले फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको निजी क्षेत्रले राजधानीका केही स्थानमा अझैं पनि फोहोर उठाउन नसकेको स्पष्ट पार्दै भन्नुभयो– ‘सिसडोलमा पनि अझै समस्या देखिएको छ । निजीले पूर्ण रूपमा काम नगर्दा समस्या आएको हो । अहिले राजधानीको कालीमाटी, कुलेश्वर, बागबजार, न्युरोड, बल्खुलगायत अघिकांश क्षेत्रको मूल सडकमा फोहोर थुप्रिएको छ ।

स्थानीयले अवरोध नगरे यो साताभित्र सबै क्षेत्रको फोहोर व्यवस्थापन भइसक्ने दाबी गर्दै विभागीय प्रमुख राईले भन्नुभयो– ‘यसका लागि सरोकारवाला निकाय सडक विभाग, स्थानीय तह, शहरी विकास तथा भवन निर्माण विभागलगायत सँग गहन छलफल भइरहेको छ ।’

सिसडोल ल्यान्डफिल साइटका इन्जिनियर सरकारदीप श्रेष्ठले १३ गतेदेखि लगातार रूपमा फोहोर विसर्जन हुन थालेकोमा मंगलबार शिवरात्रि र बुधबार स्थानीयले बाटो अवरोध गरेका कारण समस्या आएको बताउनुभयो । विभागले कहिले सवारीसाधन बिग्रने त कहिले स्थानीय अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या आएको जनाएको छ ।

शारदा अधिकारीको स्वमित्वमा रहेको शैलुङ कन्ट्रक्सनले ७ वर्षदेखि ठेक्का लिएको पासाङल्हामु सडक खण्डमा स्थानीयले पटक–पटक आन्दोलन गरेर बाटो बनाउन सहमत गराउँदा समेत बेवास्ता गरेपछि वडाकै नेतृत्वमा बाटो अवरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्