हट्यो वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा

निषेधाज्ञा हटाएर केही क्षेत्र निषेधित घोषणा



सुर्खेत ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगरमा सोमबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गर्नुभएको हो । साँझ ७ बजेदेखि लागू हुने गरी वीरेन्द्रनगरका हटिलाइन, हटियचोक, मङ्गलगढी चोक र एरिचोकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । ती क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने बताइएको छ ।

जिल्ला प्रशासनका अनुसार अर्को आदेश नहुञ्जेल निषेधित क्षेत्रमा नाराजुलुस गर्न निषेध गरिएको छ । निषेधित क्षेत्रमा सभा, जुलुस गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी व्यक्ति समूहमा उपस्थित भएको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्