लोप हुने अवस्थामा आरन पेसा



इलाम ।

परम्परागत रूपमा आरन पेसा गर्दै आएका दलित समुदायलाई आधुनिक आरन भाटी वितरण गरिएको छ । संकटमा पर्दै गएको परम्परागत आरन पेसाको संरक्षण गर्ने र त्यस पेसाबाट गुजारा चलाउनेको अवस्था नाजुक बन्दै गएको भन्दै इलाम नगरपालिका–८ वडा कार्यालयले वडाभित्रका पाँच जनालाई आधुनिक आरन भाटी वितरण गरेको हो । दलित समुदायलाई आधुनिक भाटी वितरण गर्नेमा इलाम नगरपालिका–८ नगरकै मात्र नभएर जिल्लाकै पहिलो वडा रहेको छ ।

वडामा विनियोजित एक लाख बजेटबाट पाँच जनालाई २० हजार रुपियाँ बराबरको पाँच थान आधुनिक भाटी वितरण गरेको हो । आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी यो पेसालाई प्रोत्साहित गर्न र स्थानीय स्तरमा रोजगार सिर्जना गर्न यो व्यवसाय एउटा राम्रो माध्यम रहेको जनाउँदै यस पेसामा आबद्ध पाँच जना दलित समुदायकलाई आधुनिक आरन भाटी वितरण गरेको वडाध्यक्ष होमबहादुर बस्नेतले बताउनुभयो ।

आगोको रापसँगै फलाम पिटेर विभिन्न औजार निर्माण गर्ने इलामका आरन व्यवसायीको पेसा हिजो–आज संकटमा पर्न थालेको छ । पाका पुस्ताले अँगालेको आरन पेसालाई आधुनिकीकरण गर्न नसक्दा युवा पुस्ताले चासो दिएका छैनन् । त्यसैले, पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेसा नै लोप हुने चिन्ता थपिएको त्यस व्यवसायमा आश्रित समुदायहरू बताउँछन् । त्यसो त आगोको लप्काले फलाम पिटेर आरनवाट विभिन्न औजारहरू बनाउने पेसा गाउँ घरमा कायमै छ ।

मेसिनबाट निर्मित आयातित औजारहरूले प्रभाव जमाउनुअघि गाउँ घरमा आवश्यक पर्ने घरायसी औजारहरू परम्परागत आरनबाट बन्ने गर्दथे । विगतमा यो पेसा स्वावलम्बी ग्रामीण समाजको एउटा महत्वपूर्ण पाटोको रूपमा रहेको थियो । अब आरन र आरनमा काम गर्ने मानिस, दुवै घट्दै गएका छन् ।

आरनबाट औजार बनाउने प्रविधिमा समयानुकूल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ । यसबाट गुजारा चलाउन गाह्रो भएकै कारण यो पेसा संकटमा परेको आरन व्यवसायीहरू बताउँछन् । ज्याला कम आउने तर धेरै मिहिनेत पर्ने भएकाले युवा पुस्ताले परम्परागत आरन पेसा अपनाउन नचाहने गरेको उनीहरूको भनाइ छ ।

आरन नहुँदा परम्परागत घरायसी तथा कृषि औजारहरू मर्मत गर्नसमेत समस्या हुने गरेको छ । अहिले पनि ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने कुटो, कोदालो, हँसिया, खुकुरी जस्ता कृषि औजारहरू आरनबाटै बन्ने गर्छन् । यी औजारको माग अहिले पनि बजारमा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्