लागुऔषध कारोबारमा २७ सय पक्राउ

मधेस प्रदेशमा सबैभन्दा बढी



काठमाडौं ।

पछिल्लो ६ महिनामा लागुऔषध कारोबारको कसुरमामा दुई हजार सात सय २७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । पक्राउ परेकामध्ये १ हजार ८ सय ५१ लाई मुद्दा दर्ता गरिएको प्रहरीका केन्द्रीय सूचना अधिकारी विष्णुकुमार केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

साउनदेखि पुससम्मको तथ्यांक हेर्दा लागुऔषधसम्बन्धी कारोबारमा प्रदेश १ बाट ५ सय २७, मधेस प्रदेशबाट ६ सय १३, वागमती प्रदेशबाट उपत्यकाबाहेक २ सय २४, उपत्यकाबाट ३ सय १९, गण्डकी प्रदेशबाट ३ सय ११, लुम्बिनी प्रदेशबाट ३ सय ४६, कर्णाली प्रदेशबाट ८६, सुदूरपश्चिम प्रदेशबाट २ सय ४३ र लागुऔषध केन्द्रीय नियन्त्रण ब्युरोले १ सय ९ पक्राउ गरेको केसीले जानकारी दिनुभयो ।

तथ्यांक हेर्दा पक्राउ परेको लागूऔषधमा सबैभन्दा धेरै गाँजा रहेको छ । गाजा ४ हजार २२ किलो बरामद भएको छ भने चरेस १४ किलो ६ सय ग्राम बरामद भएको छ । हिरोइन ४ किलो, अफिम ९ किलो र कोकिन ४ किलो बरामद भएको तथ्यांक छ ।

गाँजाको कारोबार वैधानिक गर्न विभिन्न बहसहरू उठेपछि हालसम्म वैधानिक हुन नसक्दा पक्राउ पर्ने र बरामद हुने क्रम रोकिएको छैन । गाँजालाई वैधानिक गर्न सर्वोच्चमा रिट निवेदन परेपछि मुद्दा दर्ता भने हुन सकेको छैन । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले गाजाको वैधानिकता सम्बन्धमा अधिवक्ता अर्जुनकुमार अर्यालले रिट निवेदन दिए पनि उक्त निवेदन दर्ता हुन नसकेको बताउनुभयो । गाँजाको वैधानिक विषयमा बहस उठे पनि अहिलेसम्म कानुनी प्रक्रियागत हिसाबले अगाडि नबढेको उहाँले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

अधिवक्ता अर्जुनकुमार अर्यालले गाँजालाई वैधानिक गर्नुपर्ने बताउनुभएको छ । उहाँले विदेशी इसारामा बन्द भएको गाँजाको कारोबार अब खुल्ला हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘विदेशीले नेपालमा गाँजा बन्द गर्न लगाएर आफ्नो देशमा गाँजा बेचिरहेका छन् । नेपालमा उत्पादित गाँजा नेपालमा अवैध हुन्छ भने ती देशमा नेपालको गाँजा वैधानिक हुन्छ त्यसैले नेपालमा गाँजाको कारोबार खुल्ला गरिनुपर्छ ।’

त्यस्तै, समाजिक अभियान्त तथा पूर्व सचिव भीम उपाध्यायले पनि नेपालीको जीवनस्तर उकास्न गाँजा पहिलो माध्यम हुने बताउनुभएको छ । उहाँले ‘नेपालीलाई आर्थिक रूपमा समृद्धि बनाउन गाँजाको कारोबार खुला गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्