साउथ फिल्मको सिको गर्दै साथीको हत्या



दोलखा ।

साउथ फिल्मको प्रभावमा साथीको हत्या गर्ने दुई नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ फुलपाका किसिम तामाङका १६ वर्षीय छोरा साहिल तामाङलाई २० वर्षीय पुष्कर थामीले १३ र ११ वर्षको दुई जना साथीसँग मिलेर साउथ फिल्मको सिको गर्दै हत्या गरेका हुन् ।

शुक्रबार भीमेश्वर नगरपालिका वडा नम्बर ३ जलदेवी मन्दिरनजिक पाखावारी जंगलमा बाँदर धपाउन पुगेका स्थानीय महिलाहरूले हात, खुट्टा र अनुहार छोपिने गरी कपडाको सेतो मेडिकल टेपले बेरेर आधा गाडेको अवस्थामा युवकको शव देखेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेको र प्रहरीले उक्त शवको फोटो सामाजिक सञ्जालमा राखेपछि साहिल तामाङको भएको खुलेको थियो ।

प्रहरीको सक्रियतामा शव भेटिएको भोलिपल्टै घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेल सहितको अनुसन्धान टोलीले शङ्कास्पद केहीलाई पक्राउ गरी सोधपुछको क्रममा घट्नामा संलग्नको पहिचान भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुष्कर थामीसहित तीन जना र मृतक साहिल तामाङ मिल्ने साथी भएकोले प्रायः सधैं सँगै घुम्ने गरेका थिए । मृतक साहिलले पुष्करको स्पिकर लगेको तर पटक–पटक माग्दा पनि नदिएपछि पुष्करले दुई नाबालकसँग साउथ फिल्ममा देखाउने जसरी साहिलको हत्या गर्ने योजना सुनाएका थिए ।

गत फागुन ७ गते शनिबार विहान साढे १० बजेतिर चारै जना दुईवटा गुलेली बोकेर चरा मार्न भनि उक्त जङ्गलमा गएको र चरा मारेर खाइसकेपछि स्पिकर माग्दा पुष्कर र साहिलको झगडा परेपछि तीन जना भएर उनको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले बताउनुभयो ।

तीन जनामध्ये पुष्करले मृतक साहिलको दुवै हात कसेर समाएको र दुई नाबालकले गुँसारको एउटै लठ्ठीले पछाडीबाट टाउकोमा प्रहार गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । लठ्ठीको प्रहारबाट बेहोस भएका साहिललाई पहिले नै मेडिकलबाट लगेको सेतो कपडाको मेडिकल टेपले हातखुट्टा र मुखमा समेत बेरेर जिउँदै खाल्डोमा पुरेका थिए । उनीहरू तीनै जना गरिब परिवारको भएको र बेलाबखत चोरी कार्यमा समेत संलग्न पाइएको प्रहरीले जनाएको छ । नाबालकहरूबाट फिल्मी शैलीमा हत्याजस्तो गम्भीर अपराध हुनु र त्यसमा उनीहरूलाई पछुतो समेत नहुनु गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पौडेल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्