जिल्ला अस्पतालमा पाएनन् गर्भवती र सुत्केरीले सेवा 

डाक्टर भेटाउनै मुस्किल, जिल्ला अस्पताल एक डाक्टरको भरमा



सल्यान ।

छत्रेश्वरी गाउँपालिकाकी सुश्मा बुढाथोकी सोमबार बिहान १० बजे सुत्केरी हुन जिल्ला अस्पताल पुगिन्, अस्पतालमा स्वास्थ्यकर्मीलाई खोज्दा-खोज्दै उनी हैरान भइन् । तर, कुनै पनि स्वास्थ्यकर्मी भेटिएनन् । उनलाई स्वास्थ्यकर्मीले सुत्केरी हुने मिति फागुन ७ गते दिएका थिए ।

सुत्केरी हुने समय नाघिसकेकाले अस्पताल आएकी उनले अस्पतालमा डाक्टरलाई भेट्न मुस्किल भयो । डिउटीमा खटिएका एक जना डाक्टर बल्ल भेटिए । उनले सुत्केरी हुने मिति नाघिसकेकाले जिल्ला बाहिर जान सुश्मालाई सल्लाह दिए । तर सुश्मालाई भने जिल्ला बाहिर जाने पैसा थिएन ।

बागचौर नगरपालिका १२ बाफुखोलाकी सुशीला ओली पनि सुत्केरी हुन गाडी ‘रिजर्भ’ गरेर जिल्ला अस्पताल पुगिन्, तर, एक जना डाक्टरले मात्र केही गर्न नसक्ने जनाएपछि उनी पनि अस्पताल बाट फर्किनु पर्‍यो ।

विशेषज्ञ डाक्टरकै अभाव हुँदा केही दिन अगाडी मात्र जिल्ला अस्पताल सल्यानमा सुत्केरी हुन आएकी एक गर्भवती महिलाको मृत्यु भएको थियो । कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर घर भएकी १९ बर्सिया केशरी रोका र उनको गर्भमा रहेको शिशुको मृत्यु भएको हो । यी त केही उदाहरण पात्र मात्र हुन ।

जिल्ला अस्पताल सल्यानमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा अस्पतालबाट एकै दिन ५१ जना भन्दा बढी गर्भवती र सुत्केरी हुन आएका  महिला उपचार नपाएर फर्किएका हुन् । अस्पतालमा ६ जना डाक्टर मध्य एक जनाको सरुवा,  दुई जनाले जागिर छाडेका, एक जना अध्ययन बिदामा र एक जना तालिममा भएका कारण अहिले अस्पतालको सेवा प्रभावित भएका बताइएको छ । जिल्लाको एक मात्र ठुलो मानिने १५ शय्याको अस्पताल अहिले एक जना मात्र डाक्टरको भरमा सञ्चालनमा छ ।

‘एक्लैले इमरजेन्सी पनि चलाउनुपर्ने हुन्छ, ओपिडी पनि चलाउनु पर्ने हुन्छ ।’, अस्पतालमा एक्लै खटिएका एमडीजीपी डाक्टर अभिषेक सिंहले भन्नु भयो – ‘अप्रेसन पनि गर्नुपर्दा एक्लै सम्भव छैन ।’ अस्पतालमा बिरामी आए पनि   बाध्य भएर बाहिर रेफर गर्नुपरेको उहाँको भनाई छ । अस्पतालमा बिरामी धेरै आउने भएकाले एक्लैले दिनरात खटिनु परेको डाक्टर सिंहले बताउनु भयो ।

चिकित्सक नै नभएपछि अस्पतालले बिरामीहरूको भर्ना लिनसमेत छोडेको छ  । आकस्मिक कक्ष तथा वार्डमा बिरामीहरू भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले जानकारी दिनुभयो । प्रदेश सरकार सँग डाक्टरको माग गरिएको र केही दिनमा प्रदेशले डाक्टर पठाउने आशामा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानको भनाई छ । अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भए पछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा ८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले १ जना मात्र कार्यरत छन् । ५ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा अहिले १ जना मात्रै रहेका हुन् । अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामी महँगो शुल्क तिरेर कोही निजी अस्पताल जान बाध्य छन् भने जिल्ला बाहिर जान बाध्य छन् । अस्पताल विकास समितिका अध्यक्ष सिपी ओलीले भने आफूहरूले पटक पटक डाक्टरहरूको माग गर्दा पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको बताउनु भयो । जिल्ला अस्पतालमा डाक्टर आए पनि छिटो सरुवा हुने गरेकाले समस्या भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्