एमसीसी अनुमोदनमा प्रतिपक्षको पनि स्वीकृति : कांग्रेस



काठमाडौं ।

प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने सम्बन्धमा गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र शंकालाई चिर्न ठूलो मद्दत पुर्याएको बताएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशरण महतले एमसीसी सम्झौता अनुमोदनका क्रममा सदनले गरेको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्ने भन्दै यो व्याख्यात्मक घोषणाले एमसीसीबारेको सबै भ्रम निवारण भएको बताउनुभयो । एमसीसीको विरोध गर्नु भनेको विकासको विरोध गर्नु हो भन्दै कांग्रेस प्रवक्ता महतले एमालेले सदनमा अन्य राजनीतिक कारणले विरोध जनाए पनि यो सम्झौता पारित गर्न स्वीकृति जनाएको बताउनुभयो ।

उहाँले एमसीसी अनुमोदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि स्वीकृति रहेकाले अब सरकारले कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिँदै भन्नुभयो– ‘एमालेका अध्यक्ष र अधिकांश नेताले यसका सन्दर्भमा प्रकट गर्नुभएका विचार र अभिव्यक्तिहरूले यो सम्झौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न ठूलो सहयोग गरेको थियो ।’

कांग्रेस प्रवक्ता महतले एमसीसी अनुमोदनको क्रममा सदनले गरेको १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले पनि स्वागत गरिसकेको जिकिर गर्दै भन्नुभयो– ‘अब एमसीसीमा कुनै समस्या नरहेकाले आयोजना अघि बढ्नेछ ।’

एमसीसी पारित गर्न सघाउने सबै दलहरुलाई धन्यवाद दिँदै कांग्रेसले यस बारेमा अझै केही भ्रम बाँकी छ भने सबैले त्यो भ्रमलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिएको छ । संसद्बाट पारित भएकाले यसको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसद्मा पनि आएको उल्लेख गर्दै कांग्रेसले भनेको छ– ‘एमसीसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस् । यस सहयोगमार्फत निर्माण हुने आयोजनाहरू गुणस्तरीय रूपमा निर्धारित समयमा निर्माण हुन सकून् । यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस् ।’

प्रतिक्रिया दिनुहोस्