बाबुआमासँगै पारस निर्मल निवासमा

छोरा अमेरिका, छोरी र श्रीमती थाइल्यान्डमा



काठमाडौं ।

लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसिरहनुभएको छ । झन्डै पाँच महिनाअघिदेखि निर्मल निबास बस्न थालेका पूर्वयुवराज पारस परिवारका सबै जना बिदेसिएपछि अहिले एक्लै पर्नुभएको हो ।

परिवारका तीन सन्तानमध्ये दुई छोरी पूर्णिका र किर्तिका उच्चशिक्षा अध्ययनको क्रममा करिब तीन वर्षदेखि थाइल्यान्डमै बसिरहेका छन् । छोरा हृदयेन्द्र उच्चशिक्षा अध्ययनको सिलसिलामा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् । दुई महिनाअघि पूर्वयुवराज्ञी एवं आमा हिमानीसँग अमेरिका पुगेका हृदयेन्द्र केही वर्ष अमेरिकामै बस्ने कार्यक्रम तय भएको छ ।
केही महिनाअघि अमेरिकामा बसोबास गरेका नेपालीका साथै हिमानी ट्रस्टले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागिता जनाएकी हिमानी दुई छोरीलाई भेट्न थाइल्याण्ड फर्कनुभएको छ । उहाँ यो महिना थाइल्यान्डमै बसेर चैतमा नेपाल फर्कने कार्यक्रम रहेको निर्मल निवासले जनाएको छ ।

साथीभाइसँग भेटघाट गर्न मात्रै कहिलेकाहीं बाहिर निस्कने गरेका पारसले बाँकी समय निर्मल निवासमै बिताउने गरेको जानकारी दिँदै निर्मल निवास स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘परिवारका सबै सन्तान बिदेसिएपछि पारस सरकार दिनभर बुबा पूर्वराजा ज्ञानेन्द्र र आमा पूर्वरानी कोमलको साथमा बस्ने गर्नुभएको छ । कहिलेकाहीं हजुरआमा रत्नलाई भेट्न नारायणहिटीस्थित रत्न मञ्जिल पुग्नुहुन्छ ।’

ज्ञानेन्द्र आज पशुपति जाँदै
पूर्वराजा ज्ञानेन्द्र शाह आज मंगलबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि पशुपतिनाथ मन्दिर जाने कार्यक्रम रहेको छ । निर्मल निवास स्रोतका अनुसार उहाँ साँझ ५ बजे मन्दिर जानुहुने भएको छ ।

पूर्वराजा मन्दिर जानुअघि निर्मल निवासका सुरक्षाटोली र केही कर्मचारीले हिजो सोमबार पशुपतिनाथ मन्दिर क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन ‘रेकी’ गरेको थियो । मन्दिरमा पूर्वराजालाई विश्व हिन्दू महासंघले सुरक्षा दिनेछ । विश्व हिन्दू युवासंघका अध्यक्ष राजन महर्जनले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न युवा टोली पशुपति मन्दिर पुग्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

कोरोना कहरका कारण दुई वर्षदेखि हुन नसकेको महाशिवरात्रि मेला यो वर्ष भव्य रूपमा आयोजना गर्न लागिएको छ । सरकारले मन्दिर वरपर ५० लाखभन्दा बढीको झिलिमिली बत्ती जडान गरिसकेको छ । मन्दिरका पर्खालमा भगवान् शिवको तस्वीर कोरिएको छ । छिमेकी मुलक भारतबाट सयौं बाबा शिवरात्रि मेला भर्न पशुपति पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्