शिवरात्रिमा पशुपति जान यस्तो छ ट्राफिक व्यवस्था



न्युज अफ नेपाल, काठमाडौं ।

ट्राफिक प्रहरीले शिवरात्रि पर्वको अवसरमा विशेष ट्राफिक योजना तयार गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिमा हुने महाशिवरात्रिका लागि ट्राफिक व्यवस्थापनसम्बन्धी योजना तयार पारेको हो । पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाएको महाशाखाले जनाएको छ ।

‘महाशिवरात्रि पर्व- विशेष ट्राफिक व्यवस्थापन योजना’ अन्तरगत पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको प्रबन्ध मिलाइएको छ । धेरै टाढा टाढाबाट भक्तजनहरू आउने हुनाले उहाँहरूको सुविधाका लागी निर्बाध आवतजावतको व्यवस्था मिलाइएको छ भने गौशाला क्षेत्र आसपासमा छुट्टा छुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरू समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखाका प्रमुख एसएसपी जोशीले बताउनु भयो ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क-गौशाला-तिलगंगा क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइने समेत एसएसपी जोशीले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एव भक्तजनहरुका सवारी साधनहरूलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङ्गको व्यवस्था मिलाएको छ । यसै गरी पशुपति क्षेत्र विकास कोषको कार्यालय भित्र कोष तथा पास बाहक सवारी साधन, गौशाला प्रहरी कार्यालय भित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारी साधन र बनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारी साधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

उहाँले तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमति करिडोरबाट गौरिघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारी साधनहरूलाई  सो खण्डमा निषेध गरी डाइभर्सनको प्रबन्ध मिलाइने समेत बताउनु भयो । महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एव प्रभावकारी बनाउनको लागी करिब ९ सय ट्राफिक प्रहरी परिचालन भएको समेत जानकारी दिनुभयो ।

ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्श नार्थी बाहेक चाबहिल, गौशाला, तिलगंगा हुदै अन्यत्र जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्