देश दुर्घटना हुनबाट बच्यो : प्रचण्ड



काठमाडौं, (नेस) ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्याख्यात्मक घोषणापछि अमेरिकी मिलेनियम च्यालेन्ज ‘एमसीसी’ सम्झौता संसद्बाट पारित भएसँगै देश दुर्घटना हुनबाट बचेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले खुमलटारस्थित आफ्नै निवासमा सोमबार पत्रकार सम्मेलन गरी एमसीसीका कारण संविधान र लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेपछि व्याख्यात्मक घोषणामार्फत एमसीसी सम्झौता पारित गरिएको बताउनुभएको हो । उहाँले एमसीसीको विषयमा समाजलाई विभाजित पार्ने र भ्रम छर्ने काम भएकाले व्याख्यात्मक घोषणा गर्नुपर्ने अवस्था सिर्जना भएको दावी गर्दै भन्नुभयो– ‘संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको साथै गठबन्धन जोगाउन एमसीसीलाई व्याख्यात्मक घोषणामार्फत हल गरिएको हो ।’

उहाँले व्याख्यात्मक घोषणाले कानुनी मान्यता प्राप्त गरेको दाबी गर्दै भन्नुभयो– ‘गठबन्धन बचाउन र एमसीसी पारित गर्न कानुनी हैसियत दिने गरी व्याख्यात्मक घोषणालाई विकल्पका रूपमा अगाडि ल्याएको हो । भियना कन्भेसन अभिसन्धिअुनसार इन्टरनेसनल कोर्टमा मान्यता हुन्छ, व्याख्यातमक घोषणाले पनि कानुनी मान्यता प्राप्त गरेको छ, व्याख्यात्मक घोषणा महाकाली सन्धि गर्ने क्रममा गरिएको जस्तो संकल्प प्रस्ताव होइन ।’

व्याख्यात्मक घोषणालाई कागजको खोस्टो हो भनेर भ्रम फैलाइएको बताउँदै प्रचण्डले यसबाट नेपालको स्वतन्त्र अडान स्थापित भएको बताउनुभयो ।’ एमसीसीको विषयलाई लिएर सबैभन्दा बढी आफूमाथि प्रहार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘एमसीसी परियोजना हाम्रै नेतृत्वको सरकार हुँदा छलफल शुरु भएको हो । केपी ओली नेतृत्वको सरकारले विवादमा ल्याउने काम गरेकाले संशोधन गरेर मात्र पारित गर्नुपर्ने पक्षमा अडान लिएका हौं । ‘एमसीसी सम्झौताको विषय सरकार जाने–आउने मात्र होइन, अहिलेको गठबन्ध जाने कुरा मात्र थिएन, धेरै कुरा उल्टिने खतरा देखियो, व्याख्यात्मक घोषणाले यी सबैको निकास दिएको छ ।’ –प्रचण्डको कथन छ ।

नेता नारायणकाजी श्रेष्ठलाई पार्टीभित्र नै असन्तुष्टि व्यवस्थित रूपमा राख्न आग्रह गरे पनि बाहिर गएर विरोध जनाइरहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘राजनीति भावना मात्र चल्दैन ।’

प्रतिक्रिया दिनुहोस्