भगवती लेमिनेट्स कर छली प्रकरण : डिलरहरू धर्मसंकटमा



काठमाडौं ।

भगवती लेमिनेट्सले कर छली गरी आफू पानीमाथिको ओभानो बन्न खोज्दा यसका डिलरहरू धर्मसंकटमा परेका छन् । विभिन्न समयमा नेपाल समाचारपत्रले शृंखलाबद्ध रूपमा समाचार प्रकाशित गरेपछि डिलरहरुले आफू भगवती लेमिनेट्सको फन्दामा परेकाले आफूलाई बचाइदिन आग्रह गरेका थिए । उनीहरुले आफूहरु जस्तोसुकै कारबाही पनि भोग्न तयार भएको बताएका थिए । तर, भगवती लेमिनेट्सले घुमाउरो पारामा डिलरहरूलाई चक्रव्युहमा फसाएको देखिन्छ ।

यसका डिलरहरुले भगवती लेमिनेट्सलाई कारोबार लुकाउन सहयोग गर्दा आफू पनि कर लुकाउन पुगेको पत्तै पाएनन् । व्यवसायमा केवल नाफा मात्र देखेका डिलरहरुले कर छलीमा सहयोग गर्दा ५ वर्षपछि सम्म पनि सम्पत्ति शुद्धीकरणले तान्न सक्ने र कर तिर्नुपरे व्यापार व्यवसाय नै चौपट हुने तथा त्यसमा पनि जरिवाना लाग्न सक्नेतिर अनुमान नै लगाउन सकेनन् । त्यसैले भगवती लेमिनेट्सका कारण डिलरहरु पनि फस्ने निश्चितजस्तै भएको छ । भगवतीका डिलरहरु धर्मसंकटमा पर्ने भएका छन् ।

यसै विषयलाई लिएर राजस्व अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले सो विवरण दिन आलटाल गरिरहेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरेको थियो । तर, हालसम्म पनि उनीहरूले कुनै विवरण बुझाएका छैनन् । विवरण बुझाउनुको साटो केही सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्र धाइरहेको बुझिएको छ ।

केही समयअघि मात्रै राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिका सातै जना सञ्चालकलाई बयानका लागि बोलाए पनि रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवाल बयानका लागि गएका थिए भने बाँकी सञ्चालक निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्र अग्रवाल र बेनित अग्रवाल हालसम्म पनि बयानका लागि गएका छैनन् ।

२५ करोडभन्दा बढी राजस्व छली प्रकरणमा छानबिनमा परेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक आर्थिक अपराधबाट उम्कन विभिन्न शक्तिकेन्द्रमा दौडधूप गरिरहेको पाइएको छ । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्सका सम्पूर्ण कागजात नियन्त्रणमा लिएर छानबिन गर्दै आइरहेको छ ।

राजस्व अनुसन्धान कार्यालयलाई चुनौती दिँदै चार सञ्चालक अझै बयानका लागि गएका छैनन् । स्रोतका अनुसार भगवती लेमिनेट्सका सञ्चालकमाथि राजस्व छलीमा मुद्दा दायर हुने धेरै प्रमाण भेटिन थालेपछि उनीहरू त्यसबाट उम्कन विभिन्न राजनीतिक दलका नेताहरू र उच्च सरकारी अधिकारीलाई भेटेर प्रभाव पार्ने कोशिस गरिरहेका छन् । ‘राजस्व छलीमा मुद्दा दायर हुने धेरै प्रमाण भेटिन थालेपछि केही सञ्चालक त्यसबाट बच्न आवश्यक राजनीतिक लबिङ गर्न राजधानी आएर दौडधूपलाई तीव्रता दिएका छन् ।’ –स्रोतले नेपाल समाचारपत्रलाई भन्यो । राजस्व अनुसन्धान विभागले भने अनुसन्धान प्रक्रियामा कुनै प्रकारको प्रभावले काम नगर्ने स्पष्ट पारेको छ ।

एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड बढीको कारोबार गरी झन्डै २५ करोड राजस्व छली गरेका आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको हो । सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् :
भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठग्दै
भगवती लेमिनेट्सको फन्दामा डिलरहरू
भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर
भगवती लेमिनेट्सको कर छली प्रकरण : व्यक्तिगत नाममा चेक काट्ने डिलरविरुद्ध कारबाही हुने
भगवती प्लाइउडमा राजस्वको छापा
डिलरलाई मानसिक तनाव, व्यापार व्यवसाय चौपट
‘भाइलाई नसोध्नु होला तनाव हुन्छ’
सम्पत्ति शुद्धीकरणको घेरामा भगवती लेमिनेट्स
भगवती लेमिनेट्स कर छली प्रकरण : सम्पत्ति शुद्धीकरणको दायरामा डिलर

प्रतिक्रिया दिनुहोस्