पाल्पामा मनाइयो मगर दिवस



पाल्पा, (नेस) ।

मगर समुदायको बाहुल्य रहेको पाल्पा जिल्लामा मगर दिवसको उपलक्षमा विभिन्न स्थानमा कार्यक्रम भएका छन् । तानसेन, रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा सांस्कृतिक कार्यक्रम भएका हुन् ।

सूचनामार्फत आम नागरिकलाई मगर दिवसको शुभकामना सन्देश पनि सम्बन्धित स्थानीय तहका प्रमुखहरुले दिएका छन् । जिल्लाका विभिन्न स्थानमा भव्य सांस्कृतिक झाँकी प्रदर्शनसहितका सांस्कृतिक कार्यक्रमहरु भएको नेपाल मगर संघले जनाएको छ । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेका थिए । ४०औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सम्बन्धित स्थानीय तहको भनाइ छ ।

यसै अवसरमा निस्दी गाउँपालिकाले १५ र १६ गते दुई दिन बिदा दिएको सूचनामा उल्लेख छ । पाल्पामा ५२ प्रतिशतभन्दा धेरै मगरहरुको बसोबास रहेको छ । जसमा रामपुर नगरपालिकामा ३६, निस्दी गाउँपालिकामा ८७, पूर्वखोला गाउँपालिकामा ८४, माथागढी गाउँपालिकामा ७५, तिनाउ गाउँपालिकामा ६०, रम्भामा ७०, बगनासकालीमा ५१ र रैनादेवी छहरामा ५८ प्रतिशत मगरहरुको बासोबास रहेको छ ।

मगर दिवसमा पाल्पाका सबै तहले स्थानीय बिदा दिएकाले स्थानीय तह मातहतका कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहे । पाल्पाका स्थानीय तहहरुमा तानसेन नगरपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्