घूस लिने मेयरसहित चार जना पक्राउ



रौतहट, (नेस) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार अपराह्न रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलसहित चार जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं बाट प्रहरी नायव उपरिक्षक पुष्प मल्लको नेतृत्वको अख्तियार टोलिले देबाही गोनाही नगरपालिकाका प्रमुख पटेलसहित उनको स्वकीय सचिव अशोक पटेल, लेखापाल प्रदिप यादव योजना शाखाका मुकेश पटेललाई दुई लाख पचास हजार नगद तथा दुई लाख पचास हजारको चेकसहित पक्राउ गरेको छ । वडानम्बर १ को भवन निर्माणको भुक्तानी दिने क्रममा घुस रकम लिँदै गर्दा ती चारै जना पक्राउ परेका हुन् ।

स्थानीय तहका प्रमुखलाई घुससहित पक्राउ परेको सम्भवत यो नै पहिलो घटना हो । उनीहरूलाई घुससहित पक्राउ गर्दा त्यस क्षेत्रमा सुरक्षाकर्मीलाई बाक्लो रूपमा परिचालन गरिएको छ । वडा नं १ स्थित करूनिया टोल निवासी वडाअध्यक्ष शेख नुरूल्लाहले विनियोजन गरेको बजेटको सम्पन्न गरेको योजनाको भुक्तानीको क्रममा घुस रकम लिने क्रममा उनीहरू पक्राउ परेको स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंका प्रहरी नायव उपरीक्षक पुष्प मल्लले यस विषयमा जानकारी दिन चाहनु भएन ।

प्रतिक्रिया दिनुहोस्