बनेपामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय, एक जना पक्राउ



 काभ्रे ।

काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको छ। ‘नो एमसीसी, खतरा’ लेखेर बाल्टिनलाई रातो झोलाभित्र बेरेर सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलीखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको हो ।

यसैबिच, सडकमा उक्त श‌ंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग आबद्ध महाभारत गाउँपालिका ६ का युगान्त थिङ रहेका छन् । बिहान साढे ७ बजेतिर सडकमा उक्त वस्तु राखेको भन्दै प्रहरीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्राराज जोशीले घटनाको  थप अनुसन्धान भइरहेको बताए ।

सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । सेनाले उक्त वस्तु निष्क्रिय गरेसँगै अहिले भने अरनिको राजमार्गमा सवारी साधन सञ्चालन भइरहेका छन् । यद्धपी नेपाल बन्दको आंशिक प्रभाव भने कायम छ ।

संसदबाट एमसीसी अनुमोदन भएसँगै विरोधमा आह्वान भएको बन्दका कारण ठाउँ ठाउँमा हिंसात्मक गतिविधिसमेत हुन थालेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्