किभ ।
रुसी आक्रमणको विरुद्धमा सशक्त प्रतिकार गरेर मुख्य सहरहरूमा आफ्नो नियन्त्रण कायम राख्दै युक्रेनले रुससँग छलफल गर्दै अगाडि बढ्ने बाटो खोज्न थालेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षा प्रमुखहरूलाई आणविक ‘प्रतिरोधी बल’ लाई उच्च सतर्कतामा राख्न आदेश दिएपछि युक्रेनले वार्ता र प्रतिकार सँगसँगै लैजान खोजेको हो ।
बेलारुसँगको सीमामा रहेको चेर्नोवाइल क्षेत्रमा रुससँग वार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्कोबीचको वार्तापछि किभ मस्कोसँग वार्ता गर्न तयार भएको हो ।
यसअघि किभले बेलारुससँग वार्ता गर्न अस्वीकार गरेको थियो । रुसले युक्रेनमा हमला गर्नुअघि रुसी सेना त्यहाँ तैनाथ थिए । त्यसअघि रुस र बेलारुसबीच बृहत सैनिक अभ्यास भएको थियो ।
रुसको फौजले गति गुमाएको र युक्रेनी सेनाको सशक्त प्रतिरोधपछि उसलाई रसद र आपूर्तिमा समस्या भइरहेको छ ह्वाइट हाउसले दावी गरेको छ । रूसी सेनाले हवाई सर्वोच्चता कायम गर्न बिफल भएको पनि अमेरिकी अधिकारीले दाबी गरेका छन् ।
युक्रेनले आफ्नो देशको पूर्वमा रहेको दोस्रो सहर खार्किभबाट रुसी सेनालाई धपाएको दाबी गरेको छ । आफ्नो सुरक्षा क्षेत्रमा प्रवेश गरेका रुसी बख्तरबंद सवारीसाधनहरूलाई आउन नदिएको युक्रेनको भनाई छ ।
देशले राजधानी किभ वरपरको रेखामा पकड कायमै राखेको तर शहरमा घुसपैठ गर्ने रूसी ‘तोडफोड समूह’ सँग लडिरहेको युक्रेनको भनाई छ ।
प्रतिक्रिया