त्रिविमा डेढ महिनादेखि तालाबन्दी

कुलपति र सहकुलपतिबाटै असहयोग



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन । त्रिवि पदाधिकारीहरूले त्रिविका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको असहयोगका कारण ताला खुल्न नसकेको आरोप लगाएका छन् ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले प्रधानमन्त्री एवं कुलपति देउवा र शिक्षामन्त्री एवं सहकुलपति पौडेलसमक्ष तालाबन्दी खोल्नका लागि पहल गर्न अनुनय विनय गर्दा समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । तीन पदाधिकारीले प्रम कार्यालय र मन्त्रालयमै गएर कुलपति र सहकुलपतिलाई तालाबन्दी खोल्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

शिक्षामन्त्री एवं सहकुलपति पौडेलले त्रिविभित्रको समस्या पदाधिकारीबाटै हल गरिनुपर्ने बताउँदै आउनुभएको छ । प्रम एवं कुलपति देउवाले भने करिब एक महिनादेखि नै यो विषयमा आफू जानकार रहेको भन्दै चाँडै समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो । तर अहिलेसम्म ताला खुल्न सकेको छैन ।

त्रिवि प्रशासनले १५ दिनअघि गृह मन्त्रालयलाई पनि ताला खोलिदिन आग्रह गरेको थियो । गृह मन्त्रालय पनि विश्वविद्यालयभित्र प्रहरी खटाउन नहुने भन्दै पन्छियो । यसरी सरकारबाटै असहयोग भएपछि ताला खोल्न नसकेको गुनासो गर्दै उपकुलपति प्राडा बास्कोटाले समस्या समाधान गर्नुभन्दा झन् बिग्रँदै गएको बताउनुभयो ।

गत १० माघमा उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनको प्रक्रिया अगाडि बढाउदा समेत ताला खुल्न नसकेको गुनासो गर्दै उपकुलपति प्राडा बास्कोटाले भन्नुभयो– ‘समस्या हल गर्ने विषयमा वार्ता गरौं भनेका छौं, तैपनि कसैले सुनेको छैन ।’

प्रधानमन्त्रीकै पार्टी निकट नेपाल विद्यार्थी संघ त्रिवि समितिले माघ ६ गतेबाट तालाबन्दी गरेको हो । पदाधिकारीले वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दा समेत विद्यार्थीले अस्वीकार गरेका कारण तालाबन्दीले त्रिविको आर्थिक, प्रशासनीय र प्राज्ञिक कार्य ठप्प छ । कार्यालय बन्द भएको कारण करिब ४ सय कर्मचारी हाजिर गर्दै गफिएर घर फर्कने गरेका छन् ।

नेविसंघ त्रिवि समितिले तीनै जना पदाधिकारीले राजीनामा नदिएसम्म वा सरकारले बर्खास्ती नगरेसम्म ताला नखोल्ने अडान दोहोर्याएका छन् । समितिका सभापति हरि आचार्यले उपकुलपति प्राडा बास्कोटाले पदीय मान्यता बिर्सिएर कर्मचारी र प्राध्यापकमाथि कपोकल्पित आरोप लगाएको बताउँदै तीनै जना पदाधिकारीकारीले राजीनामा नदिएसम्म ताला नखोल्ने अडान दोह¥याउनुभयो । उहाँले भन्नुभयो– ‘अब त उहाँहरूको जति कार्यकाल बाँकी छ । राजीनामा वा बर्खास्त नगरेसम्म त्यतिन्जेलसम्मै ताला खोल्नेवाला छैनौं ।’

नेविसंघ त्रिवि समितिले आइतबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमध्यममा कर्मचारीलाई काम नलाग्ने भन्नु र प्राध्यापकलाई जुसे प्राध्यापक भन्नु गम्भीर भुल भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ– ‘मानसिक सन्तुलन गुमाएका उपकुलपति र उहाँका पदाधिकारी त्रिविबाट नहटेसम्म ताला खोल्दैनौं । मानसिक सन्तुलन गुमाएका उपकुलपति र तीन पदाधिकारीलाई अविलम्ब बर्खास्त गरी शैक्षिक वातावरण कायम राख्न कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्दछौं ।’

संगठन र आंशिक शिक्षकले हिजै त्रिवि सेवा आयोगको मूलद्वारमा समेत तालाबन्दी गरेको छ । तालाबन्दीका कारण १५ महाशाखा, करिब आधा दर्जन विभाग र केही शाखाको काम समेत पूर्ण रुपमा प्रभावित भएको छ । त्रिविका पूर्वउपकुलपति प्राडा हीराबहादुर महर्जनले पदाधिकारीलाई बर्खास्त नगरी ताला नखोल्ने भन्नु गलत भएको टिप्पणी गर्दै भन्नुभयो– ‘वार्ताबाटै समस्या समाधान हुन्छ, कसैले राजीनामा दे भन्दैमा राजीनामा दिने र प्रमलाई बर्खास्त गर भन्दैमा बर्खास्त गर्न मिल्दैन ।’

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले तालाबन्दीकर्ताले राजीनामा नदिई वार्ता नगर्ने भनेका कारण वार्ता गर्न सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘समस्या समाधान गर्न वार्ता गर्ने हो । पदाधिकारीको राजीनामा वा बखास्ती नभई वार्ता हुँदैन भन्नु गलत हो ।’

तीनै जना पदाधिकारीले सुरक्षाकर्मी परिचालन गरी ताला खोल्न गृह मन्त्रालयलाई समेत अनुरोध गरिसकेको अवस्थामा झन् अर्को ताला थपिएकोमा आपत्ति जनाएका छन् । नेविसंघले ताला लगाएकै स्थानमा आंशिक शिक्षकले माघ २३ गतेदेखि ताला लगाएका छन् ।

तालाबन्दीका कारण त्रिविको शैक्षिक, प्राज्ञिक र आर्थिक क्रियाकलाप ठप्प छ । कामै गर्न नसक्ने अवस्था आएपछि करिब डेढ साताअघि पदाधिकारीले अपिल जारी गर्दै ताला खोल्ने वातावरण बनाउन आग्रह गरेका थिए । नेविसंघले जनकपुरस्थित युथ क्याम्पसमा बीसीए ‘ब्याचलर अफ कम्प्युटर एप्लिकेसन’ कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घूस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै पदाधिकारीको तालाबन्दी गरेको हो ।

विद्यार्थी संगठनले उपकुलपतिविरुद्ध वरिष्ठलाई भन्दा कनिष्ठलाई नियुक्ति गरेको, ९० प्रतिशतभन्दा बढी नियुक्ति ओली गुटले गरेको आरोप लगाएको छ । यसअघि तत्कालीन उपकुलपति प्रा. माधव शर्माको कार्यकालमा करिब ५ महिनासम्म त्रिविमा तालाबन्दी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्