स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन



लमजुङ ।

गण्डकी प्रदेश सरकारले लमजुङको मध्यनेपाल नगरपालिकालाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलव्ध गराएको छ । गर्भवती आमाहरुलाई निःशुल्क सेवा प्रदान गर्नका लागि गण्डकी प्रदेश सरकारले उक्त मेसिन उपलव्ध गराएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले मध्यनेपाल नगरपालिका–४ स्थित रम्घा स्वास्थ्य चौकीका अनमी इस्मिता गुरुङलाई मेसिन हस्तान्तरण गर्नुभएको थियो । अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गर्दै मन्त्री अधिकारीले उपलब्ध प्रविधिबाट स्वास्थ्य सुरक्षाका बारेमा जानकारी लिन सजिलो हुने र परीक्षणको आधारमा उपचार प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो । अल्ट्रासाउन्ड सेवाले ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न तथा जोखिमको अवस्थामा समयमै उपचार सेवा लिन सहज हुने उहाँले बताउनुभयो ।

एक ठाउँबाट अर्को स्थानमा सजिलै लैजान–ल्याउन मिल्ने प्रोटेवल अल्ट्रासाउन्ड मेसिन भएकाले गाउँगाउँका गर्भवती महिलाले सहजै सेवा लिन सक्ने मन्त्री अधिकारीको कथन छ । सोही अवसरमा मन्त्री अधिकारीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्तासमेत वितरण गर्नुभएको थियो । प्रदेश सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रतिव्यक्ति ६ हजार रुपियाँ प्रोत्साहन भत्ता उपलब्ध गराइएको हो ।

मध्यनेपाल नगरपालिकामा १ सय १३ स्वास्थ्य स्वयंसेविका छन् । शुक्रबार वडा नं. ४ अन्तर्गतका ११ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री अधिकारीले प्रोत्साहन भत्ता वितरण गर्नुभएको हो ।

मध्यनेपाल नगरपालिकामा गत आइतबारबाट निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा शुरु भएको छ । नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्र्तगत मेसिन खरिद गरी भोर्लेटार स्वास्थ्य चौकीबाट सेवा शुरु गरेको हो । निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट गर्भवती महिलाको र बच्चाको स्वास्थ्य अवस्था बारे जानकारी हुनुका साथै स्वास्थ्य समस्याका बारेमा समयमै पहिचान भई उपचारमा सहज हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार अल्ट्रासाउन्ड सेवा प्रवाहका लागि नगरपालिकामा दुई जना तालिमप्राप्त स्वास्थ्यकर्मी रहेका छन् ।

नगरपालिकाभित्र हाल १० वटा स्वास्थ्य चौकी र ७ वटा वर्थिङ सेन्टर छन् । पालिकाका स्वास्थ्य संस्थाबाट गर्भवती जाँच तथा पीएनसी सेवा लिने १ सय ५२ महिलामध्ये १ सय १६ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । हाल पीएनसी सेवा लिने गर्भवती महिलाको संख्या १ सय ६२ रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्