दुःखीपीडित सहयोग संस्थाको अध्यक्षमा ढुंगाना



काठमाडौं ।

निराकार दुःखीपीडित सहयोग संस्था नेपालको अध्यक्षमा अच्युतप्रसाद ढुंगाना चयन हुनुभएको छ । शनिबार भएको प्रथम साधारणसभाले ढुंगानाको नेतृत्वमा पदाधिकारीसहित ९ जना रहेको समिति २ वर्षका लागि निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचन समितिका संयोजक ठाकुर प्रसाद पोखरेलले उपाध्यक्षमा सहदेव राउत, कोषाध्यक्षमा अर्जुन बस्नेत, सचिवमा मीनबहादुर कुँवर र सदस्यहरूमा राजकुमार श्रेष्ठ, राजेन्द्र तिमल्सिना, ज्ञानकुमारी कुँवर, विमला ढुंगाना र विनु राउत निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । गत भदौ १६ गते गठन भएको तदर्थ समितिमा पनि यही समिति रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बेबारिसे पशुपक्षी, सडकमा मृत भेटिएका सबै जन्तु जनावरदेखि लिएर अनाथ, असहाय बालबालिका, वृद्धवृद्धाका साथै सबैको उद्धार गर्ने संस्थाको उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष ढुंगानाले बताउनुभयो । उहाँले संस्थाले उद्देश्य अनुसारको काम गर्दै आएको र आगामी दिनमा संस्थाको कामलाई फराकिलो पार्दै लाने जनाउनुभएको छ । विभिन्न सामाजिक गतिविधिमा सक्रिय ढुंगानाले संस्था नै खोलिसकेपछि काम गर्न सजिलो हुने भएकाले सबैको सल्लाहमा संस्था स्थापना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहयोग गर्ने सहयोगीहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमसहित भएको साधारणसभामा प्रमुख अतिथि सुरेन्द्र केसी, विशिष्ट अतिथि सुरेन्द्र भण्डारीलगायतका अन्य अतिथिहरूले संस्थाको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए । उनीहरूले समसामयिक राजनीतिका बारेमा पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्