कांग्रेस–एमाले बालकोट वार्ता निष्कर्षविहीन



भक्तपुर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार साँझ नेपाली कांग्रेसका नेता र एमालेका नेताहरूबीच भएको भेटवार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । एमालेले संसद्मा जारी राखेको अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा नेताहरूबीच भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस नेताहरू बालकोटबाट बाहिरिएका छन् ।

बालकोटस्थित ओली निवासबाट बाहिरिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलबाट नयाँ सन्देश दिन खोजे पनि नसकेको सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुभयो । ‘आजको छलफलबाट तपाईंहरूलाई नयाँ सन्देश दिन खोजेका थियौं तर सकेनौं, यद्यपि, हाम्रो छलफल भने जारी रहन्छ’, उहाँले भन्नुभयो– ‘गठबन्धन अहिले पनि जारी नै रहेको छ, आशा गरौं संसद् चालु भएर सहमतिबाटै एमसीसी अगाडि बढ्छ ।’

छलफलपछि एमाले महासचिव शंकर पोखरेलले गठबन्धनको राय अझै स्पष्ट नआउँदा एमालेले आफ्नो निर्णय दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आजको छलफलमा पनि हामीले गठबन्धनको एउटै राय लिएर आउनुस् भनेका छौं, उहाँहरूले गठबन्धनकै एउटै राय बनाउन सक्नुभएको छैन, उहाँहरूले गठबन्धनमा पनि छलफल जारी राख्ने, एमालेसँग पनि छलफल जारी राख्ने तर गठबन्धनको राय क्लियर नगर्ने अनि गठबन्धनको राय क्लियर नभएसम्म एमालेले निर्णय कसरी गर्ने ?’

पहिला त एमालेलाई संसद्मा प्रवेश गर्ने वातावरण बनाउन पर्यो नि भन्दै उहाँले एमालेको माग सम्बोधन भए एमालेले निर्णय लिन सक्ने बताउनुभयो । उहाँले सरकारले प्रतिपक्षलाई यसो गर, उसो गर भन्न मिल्दैन भन्नुभयो ।

छलफलमा कांग्रेसको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमालबीच वार्ता भएको थियो ।

बैठकमा कांग्रेस र एमालेका नेताहरूले आफ्नै अडान कायम राखेपछि बिनानिष्कर्ष टुंगिएको हो । आफ्नो सिफारिसअनुसार १४ जना सांसदलाई कारबाही नगरी प्रतिनिधिसभा बैठकमा भाग लिन दिएको भन्दै एमालेले ६ महिनादेखि संसद्‌ अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्