हाम्रो काम अहिले देखिँदैन्, पछि नम्बर पाउँछ: मायादेवी राना


म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना तनहुँका १० स्थानीय तहमध्ये एक्ली महिला प्रमुख हुन् । संघीयता कार्यान्वयनको प्रक्रिया सुरु भएसँगै गाउँपालिकाले उनको नेतृत्वमा विकास र सम्बृद्धिको खाका कोर्दै छ । साविकको छाङ, जामुने र मनपाङ गाविस मिलेर बनेको म्याग्दे गाउँपालिकामा करिब पाँच बर्षको अवधिमा मायादेवी नेतृत्वको स्थानीय सरकारले के गर्यो भनेर उनैबाट जवाफ खोज्ने प्रयास गरेका छन् ।

अबको केही महिनामा गाउँ अध्यक्षबाट बिदा हुँदै हुनुहुन्छ । पदमा रहँदाको अवधिलाई कसरी लिनुहुन्छ ?  
हामी लामो समयसम्म कर्मचारीले चलाएको स्थानीय सरकारको नेतृत्व गर्न आएका थियौं । धेरै चुनौतिको सामना गर्दै संघीयतालाई मजबुत बनाउन लागिरहेका छौँ । संघीयता हामीले नै चाहेको शासन व्यवस्था हो । जनताको समस्याहरू हरेक दिन प्रत्यक्ष रुपमा सुन्न, बुझ्न र समाधान गर्ने मौका पाएका छौँ ।

सुरु सुरुमा संघीयतासँग अभ्यस्त हुनलाई कत्तिको कठिन भयो ?
नयाँ जुत्ता किनेर लगाएपछि हप्ता पन्ध्र दिन लगाउन असजिलो हुन्छ नै । पछि बानी पर्दै जान्छ । सुरुमा नयाँ जे कुरा पनि अलिक अफ्ठयारो महसुस हुन्छ । तर, पनि बिस्तारै अनुभव बटुल्दै गएपछि सहज हुन्छ । संघीयता पनि यस्तै थियो । अहिले त जनताले पनि संघीयतालाई बुझेका छन् झनै सजिलो छ ।

कर्मचारी निकै कम थिए, हरेक विषयगत शाखामा कर्मचारी नभएर एउटै कर्मचारीले दुई चार वटा शाखा हेर्नुपथ्र्याे । बेलामा काम गर्न नसक्ने स्थिति पनि भोगियो ।

त्यसो हुँदा संघीयताले ठिक रहनेछ भन्ने भएन जनतामा ?
नबुझ्दा त भयो नि । पहिला त हामीले पनि सोच्यौं यो संघीयता त नहुने लफडामा फसियो भनेर । अनुभव नै ठुलो रहेछ पछि बिस्तारै सहज हुँदै आयो ।

स्थानीय सरकारलाई संघीयताको जग भनिन्छ । जग बलियो बनाउन प्रदेश र संघ सरकारले भूमिका खेल्न सके कि सकेनन् । कत्तिको सहयोग पाउनुभयो संघ र प्रदेश सरकारको तर्फबाट ?
प्रदेशबाट मन फुकाएर बजेट नदिने, बरु फ्रिज हुने । गाउँपालिकाले काम गर्नलाई बजेट नपाएको अवस्थामा उता प्रदेशमा फ्रिज भयो । त्यो सहयोग हो त ? संघको पनि त्यही हो अवस्था । राजनीति पनि बढी गरियो । बेलामा ऐन कानुन बनाएनन् । अलमलमा पारियो केही समय त ।

तपाईंको टिमले म्याग्देमा गर्व गर्न लायक के काम गर्यो त ? 
धेरै काम गरेका छौँ । गाउँपालिाकाको सात मध्ये ६ वडा पृथ्वी राजमार्गसँग जोडिए पनि दायाबाँया ओझेलमा थिए । अर्थात विकास पुगेकै थिएन् । राजमार्गसँगै जोडिएको भए पनि सडक पुग्न सकेको थिएन । हामी आएपछि हरेक गाउँलाई सडकले जोडेका छौँ ।

स्वास्थ्य इकाई स्थापना गरेका छौँ । धेरै विद्यालय सुधार गर्नु पर्ने थिए, सुधारेका पनि छौँ । ठाउँठाउँमा मठमन्दिर बनेका छन् । गाउँगाउँमा सामुदायिक भवन बनेका छन् । कृषिमा अनुदानदेखि आधुनिकीकरणमा किसानलाई सघाएका छौँ । कोठा जत्रै भए पनि कोल्डस्टोर बनाएका छौँ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणको चरणमा छ । हरेक वडा कार्यालयको भवन बन्दै छन् । गाउँपालिकामा ३० शैय्याको अस्पताल पनि बन्दैछ । गर्भवती महिलाले हाम्रै पालिकाको स्वास्थ्य संस्थामा चेकजाँच गरेर सुत्केरी हुनेलाई गाउँपलिकाले तीन हजार रुपैयाँ उपलब्ध गराएको छ । विकासका थुप्रै गरेका छौँ । कति काम पूरा हुन बाँकी नै छन् ।

तपाई आफैँ महिला पनि हुनुहुन्छ । महिलालाई आत्मानिर्भर र स्वरोजगार बनाउनलाई चाहिँ केही गर्नु भएन् ? 
महिलालाई आत्मानिर्भर बनाउनलाई पनि धेरै प्रयास गरेका छौँ । महिला दिदीबहिनीलाई आत्मानिर्भर बनाउन मानहुँ, हर्खपुर र गैरागाउँमा होमस्टे स्थापना गरेका छौँ । बर्षेनी ब्युटीपार्लर, गुडिया बनाउने, झोला बुन्ने, चुरापोते बनाउने, नेतृत्व विकास जस्ता तालिम दिएका छौँ ।

आफ्ना कामअनुुसार कत्तिको सफल भएको ठान्नुहुन्छ ? 
आफैँले आफ्नो प्रशंसा गर्नु ठिक हैन । तर पनि ५० प्रतिशत सन्तुष्ट छु । किनकी जनताले मागेका शतप्रतिशतमध्ये ५० प्रतिशत पूरा गरेका छौँ जस्तो लाग्छ । बाटोघाटो, बाँध कुलो, खानेपानी जस्ता सबै संरचना निर्माण गरेका छौँ । शिक्षा, स्वास्थ्यमा सुधार गरेका छौँ ।

आफ्नो कार्यकालमा चाहेर पनि गर्न सकिन लाग्ने केही काम छन् ?
तीन वटा काम छन् । डम्पिङ साइट निर्माण सबैभन्दा जटिल काम रहेछ । हुन त ठूला ठूला नगरपालिकाले पनि नदीमा फोहोर बगाएर बसेका छन् ।

हामीले डम्पिङ साइट बनाउनलाई अभ्यास ग¥यौँ । जाने बेलामा बल्ल डम्पिङ साइट बनाउन जग्गा किन्दैछौँ । अहिले जग्गा पास हुने प्रक्रियामा छ ।
अर्काे कोल्डस्टोर बनाउने ठुलो धोको हो । म्याग्देमा आलु सुन्तला धेरै फल्छ । सबै बाहिर जान्छ । कोल्डस्टोर नभएपछि हामीले यहाँको उत्पादन खाना पाएका छैनौँ । प्रदेश र संघमा कोल्डस्टोर बनाउन माग राखेका छौँ । गाउँपालिकाले चाहेर पनि गर्न सकेन ।

र तेस्रो संघ र प्रदेशले सपोर्ट गरेको भए हाम्रो धेरै बाटोहरु कालोपत्रे हुन्थे । हामीले सडकको ट्रयाक खोल्यौँ । नाला बनायौँ । तर ग्राभेल पनि गर्न नसकेको अवस्था छ । पर्याप्त बजेट दिएको भए सायद सबै वडाका मुख्य मुख्य सडक कालोपत्रे गर्न सक्थ्यौँ ।

अधुरा योजना पूरा गर्न अब फेरि अध्यक्षमा दोहोरिने इच्छा छ कि ?
मेरो इच्छाभन्दा पनि पार्टीको निर्णयमा भर पर्छ । पार्टीले उठ्देउ भन्यो भने दोहो-याउन पनि सक्छु ।