नेवाः पहिचान स्थापित गर्न नेपाल भाषाको प्रवर्द्धन आवश्यक : शाक्य



काठमाडौं ।

वागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेवाः पहिचानलाई स्थापित गर्न नेपाल भाषाको पठनपाठनका साथै प्रवद्र्धन आवश्यक भएकोमा जोड दिनुभएको छ । नेपाल भाषाका माध्यमबाट पठनपाठन हुने पहिलो विद्यालय जगत सुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयको ३२औं वार्षिक समारोहको अवसरमा आयोजित कार्यक्रममा पूर्व मुख्यमन्त्री शाक्यले भाषाका माध्यमबाट मात्रै पहिचान सुनिश्चित हुने विचार व्यक्त गर्दै नेवा संस्कृतिको जगेर्नाका लागि पनि नेपाल भाषामा पठनपाठन जरुरी भएको बताउनुभयो ।

कार्यक्रममा उहाँले नेपाल भाषाको सम्बद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निभाइरहेकोमा विद्यालयको प्रशंसा गर्दै विद्यालयलाई सांसद कोषबाट १५ लाख रुपियाँ सहयोग गर्ने घोषणा पनि गर्नुभयो । कार्यक्रममा यो वर्षको एसईई परीक्षामा नेपाल भाषामा सबैभन्दा धेरै अंक ल्याएर उतीर्ण हुने सदीक्षा महर्जनलाई दुई हजार रूपियाँ राशिको शान्ति मानन्धर पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

सदीक्षाले नेपाल भाषामा सबैभन्दा धेरै अंक ल्याएर एसईई उतीर्ण गर्ने विद्यार्थीलाई प्रदान गरिने अर्को पुरस्कार विरञ्चि नारायण मोतीमाया मानन्धर पुरस्कार पनि प्राप्त गर्नुभएको छ । पुरस्कारको राशि ५ हजार रुपियाँको रहेको छ । कार्यक्रममा २५ वर्ष सेवा अवधि पुगेका शिक्षिका रोशना शाक्य र चाँदनी प्रधानलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्