भारतीय सेनाद्वारा एक लाख खोप प्रदान



काठमाडौं, (नेस) ।

भारत सरकारको ‘खोप मैत्री’ योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख मात्रा उपहारस्वरूप हस्तान्तरण गरेको छ । काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा बिहीबार एक समारोहको आयोजना गरी उक्त खोप हस्तान्तरण गरेको हो ।

गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गर्नुभएको हो । उक्त अवसरमा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गोर्खाली समुदायलाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रथी कार्कीले भारतीय सेनाले अघि बढाएको सहकार्यप्रति खुसी व्यक्त गर्दै खोपका लागि आभार गर्नुभयो ।

सन् २०२० यता भारतीय सेनाले कोभिसिल्ड खोप, स्वास्थ्य सामग्री, एम्बुलेन्सलगायतका सामग्री प्रदान गरी नेपाली सेनालाई कोभिड–१९ विरुद्ध लड्न सहयोग गरिरहेको छ । भारतीय दूतावासले भारतीय सेनाले प्रदान गरेको यो खोप उपहारले दुई देश र दुई देशका सेनाबीचको सहकार्यलाई पुष्टि गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्