झोलामा शव प्रकरण : प्रेमीसँग मिलेर पतिको निर्मम हत्या



विराटनगर ।

सुनसरीको धरान उपमहानगरपालिका–४ मा जेब्रा झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको हत्या आफ्नै कान्छी श्रीमतीको योजनामा भएको खुलेको छ । प्रेमीसँग मिलेर उनले हत्या गरेको पाइएको हो ।

अनुसन्धानका क्रममा प्रेमीसँग मिलेर श्रीमतीद्वारा पतिको निर्मम हत्या गरेको खुलेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताउनुभयो । हत्या आरोपित झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्यामा संलग्न कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगर–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारीलाई पक्राउ गरि सुनसरी प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । धरान–४ मा जेब्रा झोलाभित्र टुक्रा–टुक्रा पारी फ्यालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्न प्रहरीलाई एक साता लागेको हो ।

फागुन ४ गते साँझ धरान–धनकुटा सडक खण्डअन्तर्गत जेठामाने गोलाईस्थित सडकभन्दा ४५ फिट पश्चिममा जेब्रा झोलामा प्याक गरेर फालेको अवस्थामा टाउको र दाहिने खुट्टाको तिघ्रादेखि तलको पूरा भाग फेला परेको थियो । पूरा शरीर फेला नपरेपछि प्रहरीले शरीरका अन्य भाग खोजी गर्न थाल्यो । अघिल्लो दिन फेला परेको स्थानबाट डेढ किलोमिटरमाथि सडकभन्दा ३२ फिट तल जेब्रा झोलामा नै प्याक गरेको अवस्थामा फागुन ५ गते घाँटी भन्दा मुनिको भागको शरीरसहित बायाँ खुट्टासमेतको भागहरु फेला परे । टुक्रा–टुक्रा पारी फ्यालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्न प्रहरीलाई निकै सकस परेको थियो । प्रहरीले पछिल्लो ६ महिनादेखि हराई खोजतलासका लागि हुलिया निवेदन परेका व्यक्तिहरुको नामावली संकलन गरी शवको हुलियासँग भिडाउने कार्य गरेको एसपी थापाले बताउनुभयो ।

मृतकको हुलियासँग मिल्दो प्रकृतिको मानिस हराएको हुलिया निवेदन नपरेपछि प्रहरीको अनुसन्धान शवसँगै फेला परेको बहराइनमा बनेको मास्कतर्फ मोडिएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखादेखि बहराइन प्रहरीसम्म पहिचानका लागि प्रहरीले व्यक्ति खोजीको काम गरेको उहाँको कथन छ । त्यसपछि श्रम कार्यालय र अध्यागमन कार्यालयलाई बहराइनबाट आएका कामदारको विवरण माग गरिएको थियो ।

गत माघ ९ गते बहराइन प्रहरीमार्फत पुस २० गते ट्याटवेयर पेट्रोलियममा सेक्युरिटी गार्ड काम गर्ने इलाम बाँझो घर भई हाल दमक–५ मा बस्ने दिनेश सिग्देल १५ दिनको बिदामा घर गएको तर बिदा अवधि पूरा भए पनि बहराइन फर्की नआएको खुलेपछि प्रहरीले फागुन ९ गते मृतकका बुबा हाल झापा शिवशतासी–११ झिलझिले बस्ने सुरेन्द्र सिग्देल र मृतककी जेठी श्रीमती निर्मला सिग्देललाई फेला पारी सनाखतका लागि शव देखाएको प्रहरीको भनाइ छ । उनीहरुले शवको सनाखत गरेपछि प्रहरी हत्यामा संलग्नहरुको खोजीमा लागेको एसपी थापाले बताउनुभयो ।

विराटनगर–३ पिपलचोकमा कान्छी श्रीमती रहेकी र बहराइनबाट फिर्ता हुँदा अन्य समयमा समेत कान्छी श्रीमतीसँगै बस्ने गरेको र यसपटक नेपाल आएपछि एकपटक फोन गरेको परिवारका सदस्यहरुले प्रहरीसमक्ष बताएका थिए । उनीहरुले हालसम्म पनि घरमा नआएको बताएपछि कान्छी श्रीमतीलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको एसपी थापाले बताउनुभयो । बहराइनबाट काठमाडौं आएको भोलिपल्ट पुस २१ गते दिनेश विराटनगर आएका थिए । अनितासँग उनको भेट भयो । त्यो दिन दुवै जना विराटनगरकै फेमिली होटल एन्ड लजमा बसे । पुस २२ गते दिनेश र अनिता कोठामा आए । साँझतिर कोठामै गलबन्दीले घाँटी कसेर अनिता र सरोजले दिनेशको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एसपी थापाका अनुसार विदेशबाट आएर भेट भएको भोलिपल्टै अनिताले आफ्ना प्रेमीसँग मिलेर पति दिनेशको हत्या गरेको पत्ता लागेको छ । हत्या गरेर रातभर शव कोठामै राखी पुस २३ गते दुवै जना पसलमा गएर ४ हजार रुपियाँमा ग्रेन्डर मेसिन र ३ थान जेब्रा झोला तथा पोलिथिन खरिद गरी कोठामा शवलाई टुक्रा–टुक्रा बनाएर टाउको र खुट्टाको भाग जेब्रा झोलामा प्याक गर्दै टेम्पोमा राखी धरानको जंगलमा पुर्याएर फ्यालेको देखिएको प्रहरीले बताएको छ । टाउको र हातको भाग धरानको जंगलमा व्यवस्थापन गरेपछि अनिता र सरोज धनकुटाको भेडेटार गएर एक रात बसेको खुलेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

‘उनीहरु भेडेटारबाट पुस २४ गते विराटनगर फर्किएर कोठामै छाडेको शरीरको अरू भाग लगेर त्यही जंगलमा व्यवस्थापन गरेछन् ।’ –एसपी थापाले भन्नुभयो । सुनसरी प्रकाशपुर माइती भएकी अनितासँग प्रेममा परेका सरोजको पनि पत्नीसँग घरवार बिग्रिएको पाइएको छ । प्रहरीका अनुसार पत्नीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनी अनितासँग गत दशैंदेखि नियमितजसो बस्न थालेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार उनीहरु श्रीमान्श्रीमतीझै बसेका रहेछन् । दिनेशले कमाएको रकम अनितालाई पठाउने, सो रकम मोजमस्तीमा खर्च गर्ने लगायत कारणले लामो समयदेखि नै सम्बन्धमा खटपट रहेको र प्रेमी सरोजलाई १ लाख ऋण दिएको हुँदा थप ७५ हजार दिने र दुवै जना विवाह गरी बस्ने सर्तमा अनिताले दिनेश नेपाल आउने जानकारी पाएपछि हत्या गर्ने योजना बनाएको पाइएको एसपी थापाले बताउनुभयो ।

उहाँका अनुसार ग्रेन्डर मेसिन नोबेल अस्पताल नजिकको नहरबाट र गलबन्दी अनिताको कोठाबाट बरामद भएको छ । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको एसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्