किसानलाई अनुदानमा हातेट्याक्टर



स्याङ्जा ।

कृषिमा उत्पादन लागत घटाई प्रविधिमैत्री खेती प्रणालीको विकास गर्ने उद्देश्यले भीरकोट नगरपालिकाले हातेट्याक्टर वितरण गरेको छ । नगरपालिकामा आयोजित ट्याक्टर वितरण कार्यक्रममा ३७ जना कृषकलाई हातेट्याक्टर वितरण गरिएको थियो ।

परम्परागतभन्दा पनि आधुनिक तवरबाट कृषि प्रणाली अगाडि बढाउँदै उत्पादन वृद्धि गर्न र कृषिमा हुने लागत घटाउने मुख्य उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनी टिलर) वितरण गरिएको भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो । ‘गाउँघरमा आजभोलि गोरु पाल्ने चलन हरायो, खेताला खोज्दा पाइन छाड्यो’, उहाँले भन्नुभयो– ‘हाते ट्याक्टरको प्रयोगसँगै कम खर्चमा छिटोछरितो र सहजरूपमा काम हुने भएकाले पनि अनुदानमा हाते ट्याक्टर वितरण गरेका हौँ ।’ हातेट्याक्टरको सही सदुपयोग गरी व्यावसायिकतातर्फ उन्मुख हुन नगर प्रमुख खनालले सुझाव दिनुभयो । किसानका समस्या नगरपालिकाले राम्रोसँग बुझेको भन्दै खनालले किसानहरुको साथमा नगरपालिका रहेको दाबी गर्नुभयो ।

नगरपालिकाले यो वर्ष १ सयवटा हातेट्याक्टर वितरण गर्ने भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो । नगरभित्रका नौ वटा वडाबाट माग भई आएका किसानलाई लक्षित गरी वितरण गरिने कृषि संयोजक एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताउनुभयो । ‘उहाँहरुलाई चलाउने तरिकाका बारेमा तालिमसमेत दिएका छौं भने हातेट्याक्टर बिग्रिएमा वा समस्या आएमा प्रत्येक वडामा एक÷एक जनालाई मर्मत गर्ने तालिम दिने तयारी भइरहेको छ ।’ –उहाँले भन्नुभयो । नगरपलिकाले १ सयवटा हातेट्रयाक्टर खरिद गरिसकेको हुनाले आगामी हप्तासम्म बाँकी सबै वितरण गरिक्ने कृषिविज्ञ द्रोणराज काफ्ले बताउनुहुन्छ । ५० प्रतिशत अनुदानमा डिजेल र पेट्रोल इन्जिनयुक्त ट्याक्टर वितरण गरिएको हो ।

पेट्रोल इन्जिन भएको ट्याक्टरका लागि कृषकले प्रतिट्याक्टर १६ हजार ५ सय र डिजेल इन्जिन भएको ट्याक्टरका लागि प्रतिट्याक्टर २६ हजार रुपियाँ तिर्नुपर्ने कृषि शाखाले जनाएको छ । तरकारी खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पुर्याउने उद्देश्यले हातेट्याक्टर प्रदान गरिएको हो । ‘हाते ट्याक्टरमार्फत बारी जोत्न सहज र समयको पनि सदुपयोग हुने रहेछ ।’ –ट्याक्टर प्रयोग गरिरहनुभएका कृषक शोभित कुवँरले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्