मालढुंगा–बेनी सडक निर्माणको काम धमाधम



पर्वत ।

राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गतको पर्वतको मालढुंगादेखि बेनीबजार जोड्ने मालढुंगा–बेनी सडक खण्डको निर्माणकार्य धमाधम भइरहेको छ । ठेक्काको समयभित्रै काम सम्पन्न गर्ने गरी १३ किलोमिटर सडक स्तरोन्नति गर्ने काम भइरहेको हो ।

सडक निर्माणका क्रममा मजदुर परिचालनदेखि अन्य काम द्रुत गतिमा भइरहेको निर्माण व्यवसायी बताउँछन् । प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १ सय ५० मजदुर सडक बनाउने काममा परिचालित गरिएको छ भने ठाउँ–ठाउँमा उपकरण प्रयोग गरेर सडक विस्तार गर्ने काम गरिएको छ । हाल ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न थालिएको छ । पर्वतको मालढुंगादेखि ८ किलोमिटरसम्मको खण्डमा मजदुर र उपकरण परिचाल गरेर काम गरिरहेको बेनी जोमसोम कोरोला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो ।

उहाँका अनुसार ५ किलोमिटर खण्डको स्टक्चरको काम करिब सकिएको छ । सडक चक्ला बनाउने, नाली निर्माण र सडकको दुवैतर्फ रिट्रेनिङ वाल लगाउने काम सकिएको छ । कटिङ, रिटेनिङ वाल र कल्भर्ट निर्माण कामलाई तीव्रता दिएको निर्माण व्यवसायीको अहिलेको कामको गतिलाई हेर्दा सम्झौता समयअवधिभित्र सडक स्तरोन्नतिसहित कालोपत्रे योजना सम्पन्न हुने पन्तले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको सडक भएकाले आयोजना कार्यालयले पनि निरन्तर ताकेता र साइडको अनुगमनलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

गत २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २ सय ८१ रुपियाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले गत साउनदेखि सडक निर्माण थालेको हो । ३० महिनामा सम्पन्न गर्ने गरी आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतालगत्तै निर्माण व्यवसायी कार्यस्थलमा परिचालन भएको हो । आगमी २०७९ को चैतसम्म मसान्तसम्म योजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

सडक स्तरोन्नति गरेर दुई लेनको सडक बनाउन लागिएको छ । मालढुङदेखि बेनीसम्म १३ किलोमिटर सडक जीर्ण हुँदा सर्वसाधरणले सास्ती भोग्दै आएका थिए । गत वर्ष यो सडकलाई बेनी जोमसोम कोरोला सडक योजनाअन्तर्गत राखेर निर्माण गर्ने निर्णय भएपछि ठेक्का भई काम अगाडि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्