शिवरात्रिमा भक्तजनलाई समस्या हुन नदिन मन्त्री आलेको निर्देशन



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रीको समयमा पशुपतिनाथमा देश–विदेशबाट आउने भक्तजनहरुलाई कुनै पनि समस्या हुन नदिन निर्देशन दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहनुभएका मन्त्री आलेले बुधबार कोषका पदाधिकारीलाई बोलाएर सो निर्देशन दिनुभएको हो ।‘भव्य र सव्यरूपमा महाशिवरात्रि मनाउन सबै लागि परौं, भक्तजनलाई कुनै पनि कुराको कमी नआओस् ।’ मन्त्री आलेको भनाइ छ ।

महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रंगीचङ्गी तथा झकिझकाउन गर्न समेत उहाँले निर्देशन दिनुभयो । शिवरात्रि पर्वको समयमा देश–विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्था गर्ने लगायतका कुरामा अहोरात्र खटिन र भव्य र सव्यरूपमा सफल पार्न समेत आलेले आग्रह गर्नुभयो । पशुपतिनाथमा शिवरात्रिमा आउने भक्तजन भोकभोकै बस्दा बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाउन समेत उहाँले समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

यसै गरी, मन्त्री आलेले पशुपति क्षेत्रमा पर्खालहरुमा गरिन लागेको भगवान्का चित्र निर्माणकार्य तत्काल सक्नसमेत निर्देशन दिनुभएको छ । यस वर्षको महाशिवरात्रि यही फागुन १७ गते मंगलबारका दिन परेको छ । यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले बताउनुभयो । पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्