कांग्रेस संस्थापनमा उम्मेदवार नै उम्मेदवार



बाँके, (नेस) ।

बाँकेमा कोइराला परिवारको विरासत भत्काउन कस्सिएको संस्थापन समूहमा उम्मेदवारको टुंगो लगाउन ठूलो सकस भएको छ । कांग्रेस बाँकेको फागुन १५ गते जिल्ला अधिवेशन हुँदैछ । उम्मेदवारलाई बुधबार फाराम वितरण गरिएको छ । बिहीबार उम्मेदवारी दर्ता गर्ने तालिका रहेको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिनुभयो । बाँके कांग्रेसको जिल्ला अधिवेशन पटक–पटक सर्दै आएको छ । सहायक निर्वाचन अधिकृत शाहीका अनुसार, पहिला र अहिले गरेर दुई सय पचास जनाले फाराम लगेका छन् । क–कसले कुन–कुन पदमा उम्मेदवारी दिन्छन् बिहीबार खुल्छ ।

बाँके कांग्रेसमा कोइराला पक्षको उम्मेदवारमा समस्या छैन । कोइराला पक्षले यसअघि नै नारायण गौडेललाई सभापतिमा अघि सारेको छ । संस्थापन पक्षमा सभापतिका लागि पाँच जनाले दाबी गरेका छन् । लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, सभासद् बादसाह कुर्मी, निरञ्जन सिंह सिजापति, सुनिलनरसिंह राणा र राजकुमार बर्माले सभापतिमा दाबी गरेका छन् ।

सहमतिमा एक जनालाई अघि सार्ने प्रयास जारी नै रहेको छ । तर, कसैले कसैलाई त्याग गर्ने अवस्था छैन । एक उच्च नेताका अनुसार, पहिलो चरणमा कम्तीमा तीन जना संस्थापन पक्षबाट सभापतिमा चुनाव लड्ने अवस्था देखिएको छ । कांग्रेसमा सभापतिले चुनाव जित्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । अन्य पदाधिकारीमा त्यो सीमा रहँदैन ।

संस्थापन पक्षमा टाउकोबाहेकमा सहमति जुटिसकेको छ । कोइराला पक्षमा सबै पदमा सहमति भएर उम्मेदवार फाइनल गरेर मत मागिसकेका छन् । कोइराला परिवारको विरासत भत्काउने विश्वासका साथ अघि बढेका संस्थापन पक्षमा एकमत नदेखिँदा कोइराला पक्षलाई फाइदा हुने जानकारहरू बताउँछन् । बाँकेको आठवटा पालिकामध्ये पाँच वटा र तीनवटा क्षेत्रमध्ये दुई वटामा संस्थापन पक्षले जितेको छ । पालिका र क्षेत्र धेरै जितेकाले संस्थापन पक्षका नेतामा विश्वास बढ्दा आकांक्षी बढेको बताइएको छ । निर्वाचन मण्डलले १२ गते उम्मेदवारी दर्ता, १३ गते उम्मेदवारी फिर्ता र साँझ नामावली प्रकाशन, १५ गते निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्