गाउँमा विद्यालय नभएपछि काठमाडौंमा पढाइ



दोलखा ।

तिब्बतसँग सिमाना जोडिएको दोलखाको दुर्गम लप्ची गाउँका बालबालिकाहरू विद्यालयको अभावमा पढाइका लागि काठमाडौं जान बाध्य छन् । पढाइका लागि दुई दिन हिँडेर लामाबगर आउनुपर्ने भएपछि लप्ची गुम्बा व्यवस्थापन समितिले उनीहरूलाई काठमाडौंमा स्कुल भर्ना गरिदिएको छ । दोलखाको विगु गाउँपालिका–१ मा पर्ने लप्चीमा ४६ घरधुरी रहेको छ । त्यसमध्ये १३ घरधुरीका मानिस चौंरीपालन व्यवसाय गरेर लप्चीमै बसोबास गर्दै आएका छन् । १३ घरधुरीका १५ बालिका र २ बालक गरी १७ बालबालिकालाई लप्ची गुम्बा व्यवस्थापन समितिको सक्रियतामा काठमाडौं बौद्धस्थित सङ्तेन बिलिबुटी माविमा पढाइका लागि भर्ना गरिएको समितिका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

लप्चीमै चौंरीपालन गरेर बस्ने स्थानीयको बालबालिबालाई स्वदेशी तथा विदेशी आफन्त, पर्यटक र गुरुहरूको सहयोगमा लप्ची गुम्बा व्यवस्थापन समितिले पढाइको व्यवस्था गरेको अध्यक्ष कर्माको भनाइ छ । उनीहरूलाई काठमाडौंमा बस्नका लागि समितिको काठमाडौंमा रहेको कार्यालयमा व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

लप्चीका बासिन्दा पुसदेखि चैत्रसम्म लुम्नाङमा बस्ने गर्छन् । वैशाखदेखि मंसिरसम्म भने लप्चीमै बस्ने समितिका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । २०७२ सालको भूकम्पअघि लुम्नाङमा प्राथामिक विद्यालय भएकाले चार महिना लुम्नाङ झरेको बेला बालबालिकाहरूले उक्त विद्यालयमा पढ्ने गरेका थिए । लप्ची गएपछि भने शिक्षकहरू जान नसक्ने भएकाले पढाइ बन्द गर्ने गरेका थिए । २०७२ सालको भूकम्पले विद्यालय भवन भत्किएपछि भने पढाइ हुन छोडेकाले समितिले सन् २०१५ बाट काठमाडौंमा लगेर पढाउन थालेको अध्यक्ष कर्माले जानकारी दिनुभयो ।

लप्चीमा बसेर मेहेनतसाथ चौरी पालन व्यवसाय गर्ने स्थानीय बालबालिकाले पढ्न नसक्ने र पढाइको अभावमा लप्ची गुम्बामा स्थानीयको सहभागिता नदेखिने भएकाले पनिे काठमाडौंमा लगेर पढाउन थालेको अध्यक्ष कर्माको भनाइ छ । विगु गाउँपालिका तथा सरकारले लप्चीमै विद्यालयको व्यवस्था गरेर स्थानीय बालबालिकालाई गाउँमै पढ्ने व्यवस्था गरिदिनु पर्ने अध्यक्ष शेर्पा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्