समाचारपत्रकर्मी भुसाललाई साइन पत्रकारिता पुरस्कार



बुटवल, (नेस) ।

साइन रेसुंगा डेभलपमेन्ट बैंक लि. ले साइन आर्थिक पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल समाचारपत्रका बुटवल संवाददाता यमलाल भुसाललाई प्रदान गरेको छ । बैंकको १४औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय बुटवलमा बुधबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थी, पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले भुसाललाई संयुक्तरूपमा पुरस्कार प्रदान गर्नु भएको हो । २८ वर्षदेखि पत्रकारितामा निरन्तर क्रियाशील भुसाल राज्य टेलिभिजन बुटवलका समाचार प्रमुखसमेत हुनुहुन्छ ।

यसैबीच, बैंकले साइन आर्थिक पत्रकारिता पुरस्कारका लागि पाँच लाख रूपियाँको अक्षयकोष स्थापना गरेको छ । नेपाल पत्रकार महासंघ रूपन्देहीसँगको सहकार्यमा बैंकले यसअघि ३ लाख रूपियाँको अक्षयकोषमा २ लाख थप गरेर ५ लाख बनाएको हो । उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई ५१ हजार रूपियाँ राशिको साइन आर्थिक पत्रकारिता पुरस्कार वितरण गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनुभयो ।

सो अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले रूपन्देहीमा यो नै सबैभन्दा ठूलो नगद राशिको पत्रकारिता पुरस्कार भएको उल्लेख गर्दै बैंकले सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत उल्लेख्य काम गरेको बताउनुभयो । लुम्बिनी प्रदेशका अन्य विकास बैंकहरू अरूमा बिलय भएर गएका तर साइन रेसुङ्गाले आफ्नो पहिचानलाई जोगाउँदै प्रदेशकै अग्रणी बैंकका रूपमा उभ्याउन सफल भएको बताउनुभयो । उहाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न सुझावसमेत दिनुभयो ।

वार्षिकोत्सवका अवसरमा बैंकले आइटी विभागका प्रितेश सिंहलाई साइन इन्नोभेसन अवार्ड, शंकरनगर शाखालाई शहरी क्षेत्रको उत्कृष्ट शाखा र प्युठानको भिङ्ग्री शाखालाई ग्रामीण क्षेत्रको उत्कृष्ट शाखाका रूपमा पुरस्कृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्