गेटअगाडि पुगे पनि घर छिर्न पाएनन् जयनन्द



ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा मंगलबार राति साथीभाइसँगको ‘सिटिङ’ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म त पुगे, तर भित्र छिर्न पाएनन्।

घरभित्र पस्नुअघि नै गाडीमै उनको निधन भयो। उनका माइला भाइका अनुसार मंगलबार राति जयनन्दको पत्नी घरमा थिइनन्। बुधबार बिहान करिब सात बजेतिर स्थानीय बासिन्दाले उनलाई आधा शरीर गाडीभित्र र आधा शरीर बाहिर रहेको मृत अवस्थामा देखेका थिए।

साथीभाइसँग बौद्धस्थित एक रेस्टुराँमा बसेर हँसिमजाकका साथ खानपिन गरी फर्केका उनी आफैँ कार हाँकेर फर्केका थिए भने उनको खुट्टा ब्रेकमा अल्झेको र गाडी पार्किङ गरेको सँगैको पर्खालमा टाउको ठोक्किई रगताम्मे भएको र घोप्टो अवस्थामा भेटिएका थिए। मोटो ज्यानका उनलाई एक तामाङ फिल्मको सुटिङका क्रममा दुर्घटना भई खुट्टा भाँचिएपछि हिँड्न समस्या हुन थालेको थियो। खुट्टाकै समस्याका कारण उनी कतिपय फिल्ममा लागि नृत्य गर्नसमेत असमर्थ भएका थिए।

बहुमुखी प्रतिभाका धनी लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहीबार बिहान १० देखि १२ बजेसम्म जमलस्थित राष्ट्रिय नाचघरमा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ। लामाको परिवारमा पत्नी र दुई छोरा छन्।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले संगीत क्षेत्रमा देखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशकयता गीत गाउन करिब–करिब छोडेका थिए। दुई दशक लामो अन्तरालपछि केही अघि मात्र एउटा मौलिक लोकगीत रेकर्ड गराई भिडियोका साथ सार्वजनिक गरेका सिन्धुपाल्चोकको धार्पाका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् भने फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आएका थिए। २०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।

उनले माया गर्छु म र कर्मको फल नामक फिल्म निर्देशन गरेका थिए भने सेमरी छोरङानलगायतका तामाङ फिल्म पनि निर्देशन गरेका थिए। उनी पछिल्लो समयमा गीत गायनमा भन्दा बढी अभिनयमा व्यस्त हुन थालेका थिए। लामाले मनको बाँध, सिक सिटी, वडा नम्बर ६, सुश्री सम्पत्ति, यात्रा, कान्छी, भैरे, छक्का पञ्जा १,२,३, साली कसको भेनाको, जय भोले, दाल भात तरकारी, पसिना, न यता न उता, रातो टीका निधारमा, पोई पर्यो कालेलगायत दर्जनौं फिल्मका विभिन्न भूमिकामा अभिनय गरी लोकप्रियता कमाइरहेका थिए। त्यसैगरी, लक्का जवान, कबड्डी कबड्डी ४, त्यो एक दिनजस्ता उनका फिल्म रिलिज हुन बाँकी छ भने जिरे खुर्सानी, गोलमाल, हर्के हवल्दार, हल्का रमाइलोजस्ता दर्जनौं टेलिफिल्ममा अभिनय गरेका थिए।

ललितकला क्याम्पसबाट संगीतमा स्नातक र इलाहावादबाट स्नातकोत्तर गरेका उनले त्रिविमा ४ वर्षजति एमम्युजका विद्यार्थीलाई पढाएका थिए। उनी संगीतसम्बन्धी पुस्तक प्रकाशन गर्न २०६४ र २०६६ सालमा आफैंले निकालेको नेपाली संगीत वर्णमाला र संगीतको सिद्धान्त नामक पुस्तक किताबको अध्ययन गरिरहेका थिए। उनले नेपाल प्रज्ञा प्रतिष्ठानको संगीत शाखामा गायकका रूपमा १५/१६ वर्ष जागिर खाँदा पाँच वर्ष लगाएर गीत संगीतको अनुसन्धान गरेका आधारमा ती पुस्तक तयार पारेका थिए। त्यो अनुसन्धानका आधारमा कम्तिमा सातवटासम्म पुस्तक तयार पार्ने उनको सोच थियो।

उनी बज्र एकेडेमीका विद्यार्थीलाई संगीत पनि पढाइरहेका थिए। २०५१ सालमा चुईंचुईं चुईंकिने जुत्ता बोलका लोकगीत गाएपछि उनले गीत गाउन छोडेका थिए। ‘नेपाली गीत संगीतमा असाध्यै छाडापन आयो। क्षणिक आम्दानी गर्ने र चर्चा पाउने नाममा नेपाली संगीतलाई यति बदनाम गरिदिए कि मलाई गीत गाउने इच्छा नै भएन। अर्को कुरा पहिले पञ्चायतकालमा रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी निकायसँगै निजी कम्पनीले पनि गीत गाएबापत हामीलाई पैसा दिन्थ्यो। अहिले त रेकर्ड गर्नदेखि भिडियो बनाउन र बजाउनसम्म उल्टो पैसा तिर्नुपर्छ’ एक महिनाअघि नेपाल समाचारपत्रलाई अन्र्तवार्ता दिने क्रममा उनले भनेका थिए।

जयनन्दसँग उनले संकलन गरेको गीत यति धेरै थिए कि भन्थे ‘कति गीत छ भन्न सक्दिनँ, तर प्रत्येक दिन रेकर्ड गराएर पनि म जिउँदो हुँदासम्म गाएर सकिँदैन।’ तर, तीमध्ये एउटा मात्र गीत रेकर्ड गराउन सफल भएका उनका गीत अब त्यसै थन्केर रहने भएका छन्। न त उनको सांगीतिक पुस्तक नै अब आउनेछन्। ‘म लोकगीत संकलन गर्न र संगीतको अनुसन्धान गर्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पाँच वर्षसम्म हिँडेको छु। कुनै ठाउँमा मेला छ भन्ने थाहा पाएपछि म तीन दिनअघि पुग्थें र तीन दिन पछाडि फर्कन्थेँ।

घोडाबाट, हेलिकोप्टरबाट दूर–दूरसम्म पुग्थें। त्यत्रो वर्ष लगाएर संकलन गरेको लोक गीत कति होलान्, तपाईं आफैँ पनि अनुमान गर्न सक्नुहुन्छ’ उनले सुनाएका थिए। उनले लगानी अभावकै कारण आफूले संकलन गरेका गीत गाउन नसकेको पनि खुलाएका थिए। ‘लगानी गर्न त आउँछन्। तर, त्यो लोकगीतलाई ठेट शैलीमा होइन यसरी बिगारेर गाउनुपर्यो भन्छन्। यसरी गाए सुपर हिट हुन्छ, भाइरल हुन्छ भन्छन्। तर, मैले त्यसरी गीत बिगारेर लोकको गीतलाई व्यावसायीकरण गरेर हिजो पनि गाइनँ, आज त झनै त्यसरी गाउँदिनँ। नेपालीको सम्पत्ति र संस्कारलाई सक्काएर मलाई किन हुनपर्यो भाइरल? म गीत बिगारेर आफू पनि गाउँदिन, अरूलाई पनि त्यसरी नगाउन अनुरोध गर्छु’ उनको भनाइ थियो।

जयनन्द पछिल्लो समय अभिनयमा निकै जमेका थिए। ‘अभिनय त सानोतिनो रोलमा २०३० सालको ब्ल्याक एन्ड ह्वाइट फिल्म मनको बाँधदेखि नै गर्दै आएको हो। तर, म खासै अभिनेताचाहिँ होइन। दीपकराज गिरीले छक्का पञ्जामा खेल्न बोलाएदेखि मेरो अभिनय करियर फेरि अघि बढिरहेको छ’ उनले प्रसन्नता व्यक्त गर्दै सुनाएका थिए ‘खासमा रोलचाहिँ मेरो कमेडी हुँदैन, चरित्र अभिनेताको हुन्छ। मेरो बोल्ने र हिँड्ने स्टाइल फिल्ममा र बाहिर पनि एउटै हो। फिल्ममा क्वाँ–क्वाँ रोइरहेको हुन्छु, दर्शक गलल हाँसिरहेको हुन्छ। मलाई आफैंलाई हाँसो उठ्छ। गीत गाउँदा पैसा तिर्नुपर्छ। फिल्म खेल्दा पैसा आउँछ। अहिले एउटा फिल्मबाट मलाई मामुली पनि दुई लाख रुपियाँ दिन्छन्। पाँच दिनको काम छ, सानो रोल छ भने पनि दुई लाख त दिएकै हुन्छ। मैले जीवनमा मलाई यति पैसा देऊ भनेर कहिले पनि भनेको छैन। बढीमा चार लाख रुपियाँसम्म दिएका छन्। ४/५ वटा फिल्मको एग्रिमेन्ट गरेर पैसा लिएर बसेको छु। लकडाउन त ०७६ साल फागुन ११/१२ बाट भएको हो, तर मैले असारसम्मको सेड्युलका लागि फिल्मबाट पैसा लिइसकेको थिएँ। कोरोनाका कारण त्यसरी पैसा लिएको छक्का पञ्जा ४, दुई नम्बरी, अशोक शर्माको नाम फिक्स नभएको फिल्मको सुटिङ नै शुरू हुन सकेन। दीपकराज गिरी, अशोक शर्माहरू त हिरो हिरोइन खोज्नुअघि हामीलाई खोज्नुहुन्छ।’

लामाको असामयिक निधनप्रति कलाकर्मी तथा कलापारखीहरूले गहिरो दुःख व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्