काठमाडौं ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार कांग्रेसले आफ्ना ६३ मध्ये ५९ सांसदलाई अनिवार्य उपस्थितिका लागि मोबाइलको एसएमएसमार्फत निर्देशन दिएको छ । कांग्रेसका दुई सांसद निलम्बनमा परेका छन् भने दुई जना उपचारका लागि विदेशमा छन् ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा अघि बढेपछि कांग्रेसले एमसीसीको पक्षमा उभिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग पनि संवाद गरिरहेको छ । काग्रेससँगको छलफलमा एमालले आफ्ना माग पूरा भएपछि मात्र संसद् अवरोध नगर्ने र एमसीसीबारेमा निर्णय लिने बताए पनि एमाले नेतृत्वले एमसीसीको पक्षमा नै वकालत गरिरहेको छ ।
अर्का सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि एमसीसीको पक्षमा रहेको जनाउँदै संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ । संसद्मा लोसपाका १३ जना सांसद छन् । लोसपा सांसद चन्दा चौधरीका अनुसार बुधबार बसेको पार्टी संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । एमसीसी सम्झौता संसद्बाट पारित गर्न कांग्रेस, एमाले, लोसपालगायतका दलहरू सकारात्मक भएपछि माओवादी र एकीकृत समाजवादी पार्टीमाथि दबाब बढेको छ ।
एमसीसी गत आइतबारको संसद् बैठकमा टेबल भएको थियो । २०६८ सालमा तत्कालीन नेकपा माओवादीका नेता बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि शुरू भएको एमसीसी सम्झौता प्रक्रियामा नेपालका सबैजसो दलहरू र नेतृत्व प्रत्यक्ष रूपमा सहभागी भएका छन् । पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालको वैशाखमा एमसीसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्ने गरी सञ्चालन र कार्यान्वयन गर्नका लागि एमसीए–नेपालको गठन गरेको हो ।











प्रतिक्रिया