गोर्खा सैनिकको हितका लागि भारतले काम गर्ने



काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने बताउनुभएको छ ।

भारतको ७४औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले आयोजना गरेको एक कार्यक्रममा राजदूत क्वात्राले नेपाल र भारत दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनो रहेको पनि बताउनुभएको थियो ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल केएम करियप्पाले पहिलो भारतीय कमान्डर इन चिफका रूपमा भारतीय सेनाको कमान्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ । कार्यक्रममा राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर ८ मा हवाई दुर्घटनामा परी श्रीमती मधुलिका रावत र अन्य ११ जना सैनिकसहित दिवंगत भएका जनरल विपीन रावतप्रति श्रद्धञ्जलि अर्पण गर्नुभएको थियो ।

नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा सो कार्यक्रमको प्रमुख अतिथिको हुनुहुन्थ्यो । समारोहमा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कूटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका प्रधानसेनापति शर्माले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारीविरुद्घको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकीकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्