‘पशुपतिमा गिद्दे नजर लगाउनेको भलो हुन्न’



काठमाडौं, (नेस) ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रदेव पशुपतिनाथमा गलत मनसायले गिद्दे दृष्टि लगाउनेको कहिले भलो नहुने बताउनुभएको छ । महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले पशुपतिमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले पशुपतिनाथमा रहेका जग्गा, धर्मशालालगायतका चिजमा गलत मनसायले गिद्दे नजर लगाउनेलाई जीवनभरिमा फलिफाप नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पशुपतिको सबैले रक्षा गर्नेछन्, तर जसले पशुपतिप्रति गिद्दे दृष्टि लगाउँछ त्यसको कल्याण हुने वाला छैन ।’

मन्त्री आलेले पशुपतिमा रहेको नेपाल–भारत मैत्री धर्मशाला छिटोभन्दा छिटो फिर्ता ल्याउने जानकारीसमेत दिनुभयो । अहिले पशुपतिमा आउने साधुहरूलाई उक्त धर्मशाला आफ्नो मातहतमा भएको भए ४ सय जनालाई राख्न सहज हुने बताउँदै उहाँले भन्नुभयो– ‘भारत सरकारले २५ करोड (भारु) मूल्यमा निर्माण गरेको धर्मशाला कौडीको भाउमा दिइएको छ, उक्त कार्य मेरा लागि सह्य हुने छैन् ।’

उहाँले पशुपतिमा गठन भएको मूल समारोह समितिले पशुपतिनाथमा महाशिवरात्रि पर्व मेलाको समयमा देशविदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायतका कुरामा अहोरात्र खटिन र भव्य र सव्य रूपमा सफल पार्न समेत आग्रह गर्नुभयो । पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरूलाई तत्काल अस्पताल पुर्याउनका लागि २४ घण्टा एम्बुलेन्सको व्यवस्था गर्न समेत समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्