काठमाडौं लैजान थालेको ब्राउनसुगर नेपालगन्जमै पक्राउ

रूपैडिहामा ४ लाख, काठमाडौं पुगेपछि ४० लाख



बाँके ।

काठमाडौं लैजान थालेको ठूलो मात्राको ब्राउनसुगर नेपालगन्जमै पक्राउ परेको छ । बाँके प्रहरीले मंगलबार बिहान ५.३० बजे नेपालगन्ज उपमहानगरपालिका–१६, चौलिक्काचोकबाट बर्दियाका प्रवीण बीसीलाई १ सय ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

सीमावर्ती भारतीय शहर रूपैडिहाबाट ४ लाख रुपियाँमा खरिद गरिएको ब्राउनसुगर बोकेर बीसी पैदल हिँडिरहेका थिए । प्रहरीले शंका लागेर जाँच गर्दा उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा तीनवटा सेतो प्लास्टिकको पोकामा ब्राउनसुगर राखिएको थियो ।

बाँके प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेका अनुसार, बर्दिया बढैयाताल गाउँपालिका–१, शान्तिपुरका बीसीले ब्राउनसुगर काठमाडौं लैजान ल्याएका थिए । नेपालगन्जबाट बीसी आफैं नै ब्राउनसुगर बोकेर काठमाडौं जाने तयारीमा थिए । बीसीले एक वर्षदेखि ब्राउनसुगर सेवन र कारोबार गरेको खुलेको छ ।

बाँके प्रहरीले अहिलेसम्मकै ठूलो मात्राको ब्राउनसुगर बरामद गरेको जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले ‘डिलर’ लाई समात्न सफल भएको बताउनुभयो । ‘हामीले ठूलो डिलर समातेका छौं । अरू पनि खुल्दै छ’, प्रवक्ता न्यौपानेले भन्नुभयो– ‘लागुऔषधका डिलरलाई ध्वस्त बनाउन लागिपरेका छौं । सफल पनि भइरहेका छौं ।’

सीमावर्ती जिल्ला भएकाले बाँकेमा सजिलै ब्राउनसुगर आइपुग्छ । कतिपय भारतीयले नै नेपालगन्जसम्म ब्राउनसुगर ल्याइदिन्छन् भने केहीले उतै गएर ल्याउँछन् । बाँके प्रहरीले केही दिनदेखि लागुऔषध नियन्त्रण गर्न छुट्टै टोली नै परिचालन गरेको छ । त्यसका साथै बाँकेमा लागुऔषध नियन्त्रण ब्युरोको टोली परिचालन रहेको छ । भारतीय शहर रूपैडिहामा सजिलै पाइने भएकाले सीमावर्ती जिल्लामा पुग्ने ब्राउनसुगर नेपालगन्जसम्म आइपुग्छन् । यहाँबाट काठमाडौं, पोखरा, हेटौंडालगायतका शहरमा पुग्ने गर्दछ ।

बीसीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद १४ को उप दफा १ को छ (३) बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्