एमसीसीमा बाबुरामले दिए दुई विकल्प



काठमाडौं ।

अमेरिकी अनुदान सहयोग एमसीसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसीसीको पक्षमा भोट हाल्नुपर्ने बताएका छन् । तर, अहिलेको परिस्थितिमा यो सम्भव देखिँदैन ।

पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चा सडक आन्दोलनमा छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सत्तामा रहे पनि एमसीसीको विरोधमा आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्दै आएका छन् । जसपाभित्र पनि दुई धार छ । गठबन्धनको नेपाली कांग्रेस पास गर्ने पक्षमा रहे पनि एक्लैले बहुमत पुग्दैन । भट्टराईले अर्को विकल्प अगाडि सारेका छन्- नयाँ समीकरण । नयाँ समीकरण गर्न प्रमुख प्रतिपक्ष एमालेको साथ चाहिन्छ ।

यो विषयमा कांग्रेस र एमाले नेताहरूबीच छलफल चले पनि कुनै सहमति जुटेको छैन । खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गर्न एमालेको साथ खोजे पनि उक्त दलका अध्यक्ष केपी ओलीले गठबन्धन भत्काउनुपर्ने’ सर्त राखेका छन् । भट्टराई लेख्छन्, ‘एमसीसीको डढेलो लगाएपछि यसलाई निभाउने जिम्मा सबै दलको हो । सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर पास गर्दा यसको भित्री बाहिरी स्वीकार्यता रहन्न । यो विन्दूमा आएर पास नगर्दा देश झन् ठूलो सामरिक द्वन्दमा फस्छ । कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नपर्‍यो कि नयाँ समीकरण बन्नुपर्‍यो, अर्को बाटो छैन ।’

 

प्रतिक्रिया दिनुहोस्