प्रचण्ड–नेपालमाथि दबाब बढाउँदै देउवा

देउवा र ओलीबीच भेटवार्ता



काठमाडौं (नेस)।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य अघि बढाउनुभएको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेसँगै प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग संवादलाई तीव्रता दिनुभएको हो ।

मंगलाबार साँझ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट पारित गर्न सहयोगका लागि आग्रह गर्नुभएको थियो । ओली नेतृत्वको सरकारले नै अघि बढाएको एमसीसी सम्झौतालाई आफूले निरन्तरता दिएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले पास गर्न आग्रह गर्नुभयो ।

जबाफमा एमाले अध्यक्ष ओलीले एमसीसी सम्झौताको विषयमा आफूहरुले उठाएको माग सम्बोधन गर्नुपर्ने जबाफ दिनुभएको थियो । उहाँले संसद्मा छलफल गर्ने वातावरण बनाएपछि मात्र सम्झौताको विषयमा पार्टीले निर्णय गर्ने धारणा राख्नुभएको छ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्रीले एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको बताउँदै आफूहरुले संसद्मा पार्टीले उठाएको माग पहिला सम्बोधन गर्न आग्रह गरेको बताउनुभयो ।

करिब दुई घण्टा लामो वार्तामा अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल लगायतको सहभागी हुनुहुन्थ्यो । एमसीसीको विषयमा सत्ता गठबन्धनभित्र विवाद चर्किएपछि छ दिनअघि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्