डेढ रोपनी जग्गा बालकुमारी रिमिक्सको कब्जामा

गुठीको जग्गा अनधिकृत प्रयोग गर्ने क्लबका अध्यक्ष ‘जनप्रतिनिधि’



ललितपुर ।

ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको स्वीकृतिबेगर अस्थायी टहरा बनाई २०७१ सालदेखि क्लबले आगटेको थियो । क्लबकै अगुवाइमा अहिले पश्चिमतर्फ (बालकुमारी मन्दिर छेउको बाटो हुँदै चक्रपथ जाने बाटोतर्फ) बाँकी रहेको करिब ६ आना जग्गामा पिलरसहितको करिब लम्बाइ ५२ फिट र चौडाइ १८ फिटको भौतिक संरचना निर्माण भइरहेको छ ।

गुठी संस्थान जग्गा धनी, गुठी तैनाथी र बालकुमारी गुठी उल्लेख भई तैनाथी लालपुर्जा रहेको सो जग्गामा अनधिकृत रूपले प्रयोग र भौतिक संरचना बनाउने कामको अगुवाइ ललितपुर वडा–७ का अध्यक्ष कुलबहादुर महर्जनले गरेका छन् । वडाअध्यक्ष महर्जन क्लबको पनि अध्यक्ष हुनुहुन्छ । वडाअध्यक्ष महर्जनकै प्रयासमा ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको तोक आदेशमा भइपरी बजेटबाट २० लाख रुपियाँ क्लबलाई दिने निर्णय गरिएको थियो । सोही रकमबाट अहिले अनधिकृत रूपमा संरचना निर्माण भइरहेको बुझिएको छ ।

‘गुठीको जग्गा संरक्षण गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार व्यक्तिहरूबाटै नै गुठीको जग्गा अतिक्रमण गर्न थालेपछि संरक्षण कसरी हुन्छ ?’ गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले भन्नुभयो– ‘अहिले निर्माण भइरहेको संरचनालाई तुरुन्तै रोक्न सबैतिरबाट प्रयास गर्नुपर्ने आवश्यक छ ।’ संस्थानले त्यहाँ बनाइएका स्थायी संरचना निर्माण कार्यलाई रोक्नेसँगै क्लबले ओगट्दै आएको ठूलो टहरा पनि भत्काउनेतिर लाग्नुपर्ने सुवेदीको भनाइ रहेको छ ।

भौतिक संरचना बनाउन महानगरपालिकाले विनियोजित गरेको रकमको बाँकी किस्ता निकासा रोक्न पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने पनि प्रमुख सुवेदीले बताउनुभयो । ‘अनधिकृत रूपमा भौतिक संरचना बनाउन महानगरपालिकाले कसरी प्रक्रिया अघि बढाएको हो त्यो पनि आश्चर्य चकित नै छ’ –सुवेदीले भन्नुभयो ।

गुठी संस्थान ऐन २०३३ को दफा ५३ मा गुठीको परम्पराबमोजिम चलाउनुपर्ने काम, गुठीको चल, अचल सम्पत्ति रक्षा गर्ने काम र संस्थानको घर, जग्गा, देवस्थल, पाटी, पौवामा संस्थानको स्वीकृतिबेगर जबरजस्ती भोगचलन गर्नेलाई हटाउने जस्ता काममा स्थानीय प्रशासन, प्रहरी, गाउँ विकास समिति वा नगरपालिकाले सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ । ‘यही आधारमा अतिक्रमण रोक्न स्थानीय प्रशासन, महानगरपालिका र वडा–८ को कार्यालयमा पत्राचार गरिएको संस्थानले जनाएको छ । अहिले धमाधम निर्माण भइरहेका संरचना तुरुन्तै रोक्नुपर्ने देखिन्छ । यस विषयमा मेयरसँग भेट्न पटकपटक प्रयास गर्दा पनि भेट्न सकिरहेको छैन’ –संस्थान प्रमुख सुवेदीले भन्नुभयो ।

त्यसै गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–३ मा गाउँपालिका र नगरपालिकाको कर्तव्यअन्तर्गत सार्वजनिक सम्पत्तिको अतिक्रमण रोकथाम गर्नु पनि उल्लेख गरिएको छ । गुठीको स्वीकृतिबेगर पक्की संरचना बनाउन किन अघि बढ्नुभएको भन्ने प्रश्नमा क्लबका अध्यक्षसमेत रहेका वडाअध्यक्ष महर्जनले भन्नुभयो– ‘सो संरचना क्लबले होइन । बालकुमारी मन्दिर संरक्षण समितिले बनाएको हो । निर्माण कार्य रोक्नु भनेपछि काम रोक्न मैले पनि भनेको छु ।’

गुठी जग्गा अतिक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको पनि अध्यक्ष महर्जनको जिकिर रहेको छ । क्लबमार्फत महानगरपालिकाबाट रकम निकासा गरी र्भौतिक संरचना निर्माण भइरहँदा पनि भवन बनाएको छैन भन्न कसरी मिल्छ र भन्ने प्रश्नमा अध्यक्ष महर्जनले भन्नुभयो– ‘यसको रेखदेख गर्नेदेखि सबै काम संरक्षण समितिले गर्दै आएको छ ।’

संरक्षण समितिले गत आर्थिक वर्ष ललितपुर क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र विकास पूर्वाधारबाट १५ लाख रुपियाँसहित आर्थिक सहायता जुटाएर भुइँ तलामा बाटोको सतहसम्म छुने गरी ‘वाल सिस्टम’ सहित भौतिक संरचना बनाएको थियो । मन्दिर, सत्तल र त्यहाँको सरसफाइका लागि आवश्यक सामग्रीहरू राख्न भनी सो संरचना बनाएको समितिका अध्यक्ष खड्गलाल महर्जनले बताउनुभयो । ‘त्यति बेला पनि संस्थानले रोक्न पत्राचार गरेको थियो । तर, अहिले त झन् पिलर राखेर तला थप्न खोजिँदै छ’ –सुवेदीले भन्नुभयो ।

महानगरपालिकाबाट पैसा ल्याएपछि ‘स्टोर रुम’का लागि भनी पोहोर साल बनाएको भुइँ तलाको भाग जिम हल राख्न क्लबले संरक्षण समितिसमक्ष अनुरोध गरेको थियो । त्यसअनुसार जिम हलका लागि क्लबलाई ठाउँ दिन संरक्षण समितिका पदाधिकारीहरू सहमति भएका थिए । त्यसपछि क्लबले ल्याएको रकमबाट व्यापारिक प्रयोजनको उद्देश्यले पाँचवटा पसल कवल राख्न सकिने गरी अहिलेको संरचना बनाउन शुरू गरिएको थियो । गुठी संस्थानको पत्रसहित अन्य पक्ष बुझेर कानुनबमोजिम गुठीको जग्गा संरक्षण गर्नेतिर लाग्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्