एमसीसीमा सघाउन ओलीलाई प्रधानमन्त्री देउवाको आग्रह

आफ्ना माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने एमालेको अडान कायमै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका लागि बालुवाटार पुगेका प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु बाहिरिएका छन् । मंगलबार साँझ बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीसहितका नेताहरु करिब २ घण्टाको बसाइपछि बाहिरिएका हुन् ।

अध्यक्ष ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल वार्तामा सहभागी थिए । नेताहरुबीच एमसीसी सम्झौता र सत्ता साझेदारिता लगायतको विषयमा छलफल भएको जनाइएको छ ।

‘भेटका क्रममा प्रधानमन्त्रीज्यूले हाम्रो पार्टीसमक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोगका लागि आग्रह गर्नुभयो’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, – ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्